युरो किड्स प्रिस्कुल बनेपा शाखाले आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका बालबालिकाहरुलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । प्रमुख अतिथि नगर प्रमुख शान्तिरत्न शाक्यले अन्तराष्ट्रिय स्तरको शैक्षिक कृयाकलाप गरी शिक्षण सिकाइ गर्नुभएकोमा प्रशंसा गर्नुहुँदै अभिभावक वर्गको चाहना अनुसार शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन र शिक्षक टिम सशक्तरुपमा लाग्नुपर्ने बताउनुभयो । रेडियो एविसीका अध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले युरो किड्स बनेपाले बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, ज्ञान सिप र संस्कार दिन सक्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले युरो किड्स बनेपा शाखा बनेपा नगर क्षेत्र मात्र नभई सम्पूर्ण काभ्रे जिल्लाकै एक नमुना शैक्षिक संस्था भएको उल्लेख गरे । उनले बालबालिकालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रम, सिकाइसँगै व्यवहारिक ज्ञान तथा बालमैत्री वातावरण प्रदान गरिएकोमा विद्यालयप्रति आभार व्यक्त गरे । साथै, बदलिँदो समय र सरकारी नीतिगत विविधताका कारण शैक्षिक संस्थाहरूले नयाँ ढंगबाट सञ्चालनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सेन्टर हेड प्रमुख सुनिता गिरीले विद्यालयमा पूर्णरूपमा बालमैत्री वातावरणमा सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरि शिक्षा प्रदान गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका संचालक राजेश गिरी, मदानी विटका सह–सम्पादक विकास तिमल्सिना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले सञ्चालन गर्दै आएको बालमैत्री तथा गुणस्तरीय शैक्षिक क्रियाकलापको प्रशंसा गरेका थिए । नेपालमा युरो किड्स स्तरको शिक्षण सिकाइ हुने १ सय ५६ विद्यालय छन् ।
