बनेपास्थित निष्ट कलेज बनेपाले आफ्नो १५ औँ वार्षिकोत्सव समारोह कार्यक्रम सूर्यराज आचार्यको प्रमुख आतिथ्यता तथा कलेजकी निर्देशक प्रणिता शर्मा बरालको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको शैक्षिक स्तरीयता बारे निष्ट कलेज १५ वर्षअघि बनेपा ९ नयाँबस्तीमा स्थापना गरिएको र काठमाडौंस्थित निष्ट कलेजको विस्तारका रूपमा काभ्रेमा सञ्चालन गरेको बताउनुभयो । कलेजले विगत १५ वर्षमा १५ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गरिसकेको र हाल १ हजार ३ सय २६ विद्यार्थी अध्ययनरत रहेको जनाएको छ । कलेजमा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध स्नातक तहका बीएससी सिएसआइटी, बीसीए र बीआइटी कार्यक्रम सञ्चालनमा छन् । साथै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन संकायका विषयहरू अध्यापन गर्ने अवसर छ । २०७९ सालमा कक्षा १२ मा नेपाल टप, २०८१ मा तीन जना विद्यार्थीले ३.९६ जीपीए ल्याउँदै पुनः नेपाल टप गर्न सफल भएको कुरा प्रिन्सिपल भट्टले जनाउनुभयो । त्यसैगरी २०८२ मा स्नातक तहमा नेपाल दोस्रो स्थान हासिल गर्दै कलेजले जिल्लाको नाम उच्च बनाएको छ ।
प्रमुख अतिथि आचार्यले निष्ट कलेजले ज्ञान, सिप सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय स्तरमै छुटै पहिचान सफल भएको बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढिरहेका बेला कलेजले सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्येख गर्नुभयो । कार्यक्रममा कलेजका कार्यकारी निर्देशक डा. राजेन्द्र घिसिङले जिल्लाबाट प्रविधि सहितको स्तरीय शिक्षण सिकाइ गरेको तर्क गर्नुभयो । कार्यक्रममा प्याब्सन सचिवालय सदस्य एव विद्या सागर स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त समारोहमा अवसरमा प्रशासन प्रमुख पुण्य कट्टेल, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । साथै तत्कालीन पञ्चकुमारी स्कुलका संस्थापक केपी घिमिरे र पुष्पा घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल रजिव श्रेष्ठले गर्नुभएको थियो ।
