‘उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड बनेपाले ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरू सम्पन्न गरी मनाएको छ । सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रलाई थप सशक्त, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले संघले विविध र रचनात्मक कार्यक्रमहरू सञ्चालन गरेको हो । संघका अध्यक्ष अमन पोटेका अनुसार स्थापना दिवसको सन्दर्भ पारेर सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश र लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारीको झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष सम्मेलन जस्ता कार्यक्रमहरू सम्पन्न गरी मनाएको छ ।
जिल्ला बचत संघका अध्यक्ष पोटेले सहकारी क्षेत्रलाई आर्थिक स्तर बृद्धि गर्ने खम्बाका आधारका रूपमा विकास गर्न संघले निरन्तर योजना निर्माण र कार्यान्वयन गर्ने कार्य गरेको बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारी क्षेत्रको दिगो बिकास गर्न नसक्नुको कारण वर्तमान अवस्थामा, शेयर सदस्यले गरेको बचत फिर्ता गर्न नसक्ने ऋणी असुली गर्न नसक्नुले गम्भीर समस्या रहेको बताउनुभयो । संघ र प्रदेश सरकारले समयमा अनुगमन नगर्दा थप समस्या रहेको नगर प्रमुख शाक्यले तर्क गर्नुभयो ।
त्यसैगरी उपप्रमुख विमला सापकोटा, संघका सचिव प्रकाश बञ्जाराको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक उपेन्द्र दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रम अन्तर्गत आयोजित फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा पाँचखालको स्वेच्छा बचत सहकारी प्रथम हुँदै नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भयो । त्यसैगरी पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार प्राप्त ग¥यो भने बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत गरिएको थियो ।
