नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काभ्रे जिल्ला शाखाको ३२ औँ स्थापना दिवस तथा ३१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका सभापति टीकाभक्त भोछिभोयको सभापतित्व एवं प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । शाखाका उपसभापति ग्रुबेन तौजलेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रतिष्ठानका सचिव हरिशरण श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्यारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । वरिष्ठ बाल मुटुरोग विशेषज्ञ डा. अनिस जोशीले बाथ मुटुरोग तथा मुटुरोग सम्बन्धी प्रतिष्ठानले सञ्चालन गर्दै आएका कार्यक्रमहरू, विभिन्न संघ–संस्थासँगको साझेदारी तथा सहकार्यका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान सभापति अशोक कुमार श्रेष्ठले यस वर्ष प्रदान गरिने “श्री विमल लाल सिकु श्रेष्ठ स्मृति शिक्षा तथा स्वास्थ्य पुरस्कार” तथा “विष्णु माया रामेश्वर मकै श्रेष्ठ महिला स्वास्थ्यकर्मी पुरस्कार” बाट सम्मानित हुने व्यक्तित्वहरूको योगदानबारे जानकारी गराउनुभयो । “श्री विमल लाल सिकु श्रेष्ठ स्मृति स्वास्थ्य सम्मान” सिर मेमोरियल अस्पतालमा कार्यरत चिकित्सक डा. विद्या कोख श्रेष्ठ प्रधानाङ्गलाई प्रदान गरिएको थियो भने शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका इन्द्रेश्वर माध्यमिक विद्यालय पनौतीका शिक्षक माधव प्रसाद अधिकारीलाई तथा बनेपा आधारभूत विद्यालयका शिक्षक नारायण प्रसाद वैद्यलाई “श्री विमल लाल सिकु श्रेष्ठ स्मृति शिक्षा सम्मान” प्रदान गरिएको थियो । त्यसैगरी “विष्णु माया रामेश्वर मकै श्रेष्ठ महिला स्वास्थ्यकर्मी पुरस्कार” शंखुपाटीचौर स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी अन्जु अधिकारीलाई प्रदान गरियो । नेपाल हृदय रोग निवारण प्रतिष्ठानले काभ्रे जिल्लामा मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आइरहेको छ ।
