शपथ ग्रहण गर्ने क्षणमा म अनायासै अत्यन्त भावुक बनेँ । शपथका शब्दहरू उच्चारण गरिरहँदा मेरो चेतना वर्तमानमा मात्रै सीमित थिएन; इतिहासका अनेक तहहरू पार गर्दै अघि–पछि डुलिरहेजस्तो भएको थियो ।
मनमा बारम्बार एउटै अनुभूति उठिरह्योः यो त्यही संसद् हो, यही थलो, जहाँ कुनै बेला बिश्वेश्वरप्रसाद कोइराला उभिनुभएको थियो; जहाँ कृष्णप्रसाद भट्टराईले लोकतन्त्रको नाजुक संक्रमणकाललाई संयमतापूर्वक सम्हाल्नुभएको थियो; जहाँ विचारको गहिराइ बोकेर प्रदीप गिरी बोल्नुहुन्थ्यो; जहाँ जनताको राजनीतिक चेतनालाई नयाँ दिशा दिने मदन भण्डारीका पदचापहरू गुञ्जिएका थिए । र पछिल्लो पुस्तामा, मेरै जिल्लाका, नागरिकका सतत सपनासँग संवाद गर्ने स्वर्गीय रविन्द्र अधिकारी यही स्थानमा बसेर नवीन कल्पनाका तराना बुन्नुहुन्थ्यो ।
आज मैले शपथ खाँदा मलाई लाग्योः म कुनै नयाँ ठाउँमा आएको होइन; म एउटा निरन्तरतामा प्रवेश गरेको हुँ । यहाँ व्यक्ति बदलिन्छन्, पुस्ता फेरिन्छ, तर जिम्मेवारीको इतिहास भने निरन्तर बगिरहन्छ । यो स्थान केवल संरचना होइन; यो आशा, संघर्ष, आदर्श, असहमति, त्याग र विश्वासले बनेको जीवित स्मृति हो । मलाई यस्तै अनुभूति जीवनमा दोस्रोपटक भएको हो । पहिलोपटक तब, जब मेरो पहिलो पुस्तक ’पैताला’ प्रकाशित भएको थियो । त्यो पुस्तक हातमा लिँदा मलाई लागेको थियो–म अब एक्लो लेखक रहेनछु; म इतिहासका ज्ञात र अज्ञात लेखकहरूको लामो पङ्क्तिमा चुपचाप उभिएको छु । कसैले आफ्नो नाम समयमै कोरे, कसैले नामै नछोडी विचार मात्रै छोडे ।
आज संसद्मा शपथ खाँदा पनि त्यही भाव मनभरि जाग्राम भएको थियो । मानौँ इतिहासको विशाल पुस्तकमा म आफ्नो नाम लेख्न आएको होइन, बरु जिम्मेवारीको एउटा अधुरो वाक्य पूरा गर्न आएको हुँ । यहाँ आउनु व्यक्तिगत उपलब्धिभन्दा बढी, अघिल्ला पुस्ताले देखेका सपनाहरूको निरन्तरता सम्हाल्ने अवसर जस्तो लागेको थियो ।
शायद जीवनका केही क्षणहरू यस्तै हुन्छन् ! जहाँ व्यक्ति आफूभन्दा ठूलो कुनै प्रवाहमा मिसिन्छ । आज मलाई संसद भवन भित्र प्रवेश गरेको अन्य कुनै प्रकारको खास कुनै अनुभूति नै भएन; बरु परम्परा, संघर्ष र विश्वासको दीर्घ यात्रामा सहभागी भएको अनुभूति मात्रै भयो । मलाई यो अलौकिक अनुभूतिको सक्षात्कार गर्न योग्य बनाइदिने कास्की १ का तमाम मतदाताप्रति म सदैव अनुग्रहित रहने छु । (गनेस पौडेल कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुँदै बालेन सरकारका पर्यटन मन्त्री हुन् ।)
