IMG-LOGO

प्रत्येक वर्ष बीउ बिजनको आयत बढ्यो

 मंगल, चैत १०, २०८२  --

               धुलिखेल । नेपालमा बीउको आयात प्रत्येक वर्ष बढ्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । गत मंगलबार कृषि विकास कार्यालय काभ्रेले आफ्नो कार्यक्षेत्र काभ्रे र सिन्धुपाल्चोकका बीउ उत्पादक, बीउ व्यवसायी तथा सरोकारवालाहरुबीच गरेको अन्तरक्रिया कार्यक्रममा संचारकर्मी बीच समेत छलफल गरेको हो । कार्यक्रममा कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले कार्यपत्र प्रस्तुत गर्दै बीउको आयात बिकरालरुपमा बढीरहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा देशभर तरकारीको बीउ १६०.६२ मेट्रिक टन आयात भएको थियो । त्यस्तै मकैको बीउ १ हजार १७८.०३ मेट्रिक टन आयात भएकोमा धानको बीउ आयात १ हजार ८५८.६८ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो ।

               प्रत्येक वर्ष बढ्दै यो संख्या आर्थिक वर्ष ०७९÷०८० मा आइपुग्दा तरकारीको बीउ, २१८.४ मेट्रिक टन, मकैको बीउ २ हजार ५४५. ५६ मेट्रिक टन र धानको बीउ २ हजार २७३.४१ मेट्रिक टन आयात भएको छ । यस्तै काभ्रेमा मात्र गत आर्थिक वर्ष ०८१÷०८२ मा धानको हाइब्रिट बीउ ४३.६२ मेट्रिक टन र उन्नत जातको बीउ ४६.६४ मेट्रिक टन कारोबार भएको थियो । मकैको हाइब्रिट बीउ ८८७.४१, उन्नत बीउ १०.०९ मेट्रिक टन कारोबार भयो । यसैगरि तरकारीको बीउ हाइब्रिट २.११८ र उन्नत जातको बीउ २९.२६ मेट्रिक टन कारोबार भयो भने गहुँको उन्नत जात २.८४ मेट्रिक टन कारोबार भएको तथ्यांक छ । यसरी हेर्दा बीउ प्रतिस्थापन दर धानको नेपालमा २८.५३ प्रतिशत तथा काभ्रेमा मात्र १५.८४ प्रतिशत रहेको छ । यस्तै मकैको बीउ नेपालमा १६.८४ र काभ्रेमा १९.२३ तथा गहुँको बीउ नेपालमा २२.१ तथा काभ्रेमा १७.३४ प्रतिशत रहेको तथ्यांकमा उल्येख छ ।

               काभ्रेमा गतवर्ष धानको बीउ ६२ मे.टन उत्पादन भयो, जहाँ ५४८.२५ मे. टनको आवश्यकता थियो । गहुँको बीउ १४.८० मे. टन उत्पादन भयो । जिल्लामा एक हजार २६ मे. टन गहुँको बीउ आवश्यक थियो । यस्तै मकैको बीउ ७७१ मे. टन आवश्यक रहेकोमा जम्मा २४ मे. टन मात्रै उत्पादन भयो भने कोदोको बीउ ४८ मे. टन आवश्यक रहेकोमा जिल्लामा उत्पादन नै नभएको जनाइएको छ । यस्तै अन्य बालीहरुको बीउ पनि अपुग भएको थियो । यसरी हेर्दा हरेक वर्ष बीउ आयातमै नेपालले अर्बौं रुपैयाँ बाहिरी मुलुक पठाइरहेको छ । यसलाई रोक्न अब गाह्रो भए पनि न्यूनिकरणका लागि स्वदेशमै बीउ उत्पादनमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

               बीउ बिजन ऐन २०४५ का अनुसार यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउ विजन वा बीज नै सामान्य बुझाइको भाषामा बीउ हो । यस्ता बीउहरु नेपालमा कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले उत्पादन तथा बिक्री वितरण गर्छ । नेपालमा हाल १ हजार ५७ प्रकारका बीउहरु सिफारिस गरिएका छन् । यस अन्तर्गत, तरकारी, धान, गहुँ, मकै, फलफूललगायत सबै बाली र बोटबिरुवाहरु पर्दछन् । यस्ता बीउहरु स्वदेशमा उत्पादन भए पनि नपुगेपछि बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको प्रमुख दवाडीले जानकारी गराउनुभयो ।

               काभ्रे जिल्लामा ११ हजार ५८ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । जसमा ४३ हजार ३६९ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै मकै खेती २४ हजार ८७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसमा ८२ हजार ७१७ मेट्रिक टन उत्पादन हुन्छ भने गहुँको खेती ८ हजार ८६० हेक्टर क्षेत्रफलमा हुँदा उत्पादन भने २६ हजार ४८३ मेट्रिक टन हुने गरेको छ । यी बाली उत्पादनका लागि जिल्लामा ५५३ मेट्रिक टन धानको बीउ, ७४६ मेट्रिक टन मकैको बीउ, १ हजार ६३ मेट्रिक टन गहुँको बीउ, ५२ मेट्रिक टन कोदो, ४३ मेट्रिक टन जौ को बीउ, फापर र तोरीको बीउ क्रमशः ३८ र २८ मेट्रिक टन आवश्यक पर्छ । यस्तै १८ हजार ३१८ मेट्रिक टन आलुको बीउ, ७३ मेट्रिक टन भटमास, एक मेट्रिक टन मास, २ मेट्रिक टन चनाको बीउ र ६ मेट्रिक टन गहतको बीउ आवश्यक पर्ने तथ्यांक छ । जसमध्ये अधिकांश बीउ बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था छ । कार्यक्रममा किसानले बीउ चक्रको बारेमा ध्यान दिन नसक्नु र सूचना र ज्ञानको कमीले गर्दा बीउको प्रयोगमा आयातकै भर पर्नुपर्ने समस्या बढिरहेको दवाडीले जनाउनुभयो ।

               यस्तै बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवनका प्रमुख वेनुप्रसाद प्रसाईंले नेपालमा बीउको अवस्थाका बारेमा सहभागीहरुलाई जानकारी गराउँदै नेपालमा बीउको प्रयोग र संरक्षण तथा बीउ उत्पादन र संरक्षणमा भएका कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार संसारभर सबै खाद्यान्नको बीउको माग बढीरहेको छ । कृषिमा संलग्न जनशक्तीको अभावलगायत विविध कारणले नेपालमा भारत र चीनबाट ठूलो परिमाणमा बीउहरु आयात गर्नुपरेको उहाँले जानकारी दिनुभयो । प्रसाईंले बीउ उत्पादनको अनुगमन फितलो हुँदा किसानहरु समस्यामा रहेको र ऐन कानुनको पालनामा पनि समस्या रहेको बताउँदै यसमा सरकारले ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले ग्रामिण जनसंख्या घट्दो र शहरमा बढ्दो अवस्था रहेको उल्लेख गर्दै कृषिमा उत्पादकत्व बढाउनु पर्ने जनाउनुभयो । बीउमा नेपाल परनिर्भर भइरहेको सन्दर्भमा रैथाने बीउको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्येख गर्नुभयो ।

               कार्यक्रममा सहभागी बीउ उत्पादक तथा बिक्रेताहरुले आफूहरुले भोगिरहेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । चोर बाटोबाट आउने बीउको समस्या, हरेक बर्ष नयाँ बीउको प्रयोग गर्ने, आईपिएम खेती प्रणाली अनुसार खेती नगर्ने जस्ता समस्याले बीउ आयात बढेको उनीहरुको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालयका प्रमुख दवाडीले स्थानीय जातका बीउहरुलाई संरक्षण गर्न र रैथाने बीउहरुको जगेर्नामा कार्यालयले नयाँ कार्यक्रमहरु अघि सारेको जानकारी गराउनुभयो । तर बजेट अभावले सोचेजसरी काम गर्न नसकिएको बताउँदै उहाँले यसले केही मात्रामा भए पनि बीउ आयात रोक्न सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

               कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषि क्षेत्र साँच्चै नै पीडित रहेको उल्लेख गर्दै बीउमा पनि रासायनिक मलमा जस्तै अनुदान दिन राज्यले नीति ल्याउनु पर्ने बताउनुभयो । उहाँले रैथाने बीउ उत्पादनमा किसानहरुलाई अनुरोध गर्दै त्यस्ता बीउ बिक्रीका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषिबाटै देशलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनका कृषि अधिकृत मनोज पोखरेलले नेपालमा विषादी प्रयोगका समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा २६ प्रकारका विषादी प्रतिबन्ध लगाइएको र अतिघातक मानिएका विषादीहरुको व्यवस्थापन गरिएको पनि जानकारी दिनुभयो । विषादी प्रयोग भयावह बन्दै गइरहेकाले यसको विकल्पमा जैविक विषादी प्रयोगमा जोड दिनुभयो । कार्यक्रममा बीउ उत्पादक, व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्