बेलायत पुग्ने हरेक नेपाली विद्यार्थीको कथा बाहिरबाट हेर्दा चम्किलो देखिन्छ । फोटोहरूमा मुस्कान हुन्छ, नयाँ सहर, नयाँ जीवनको झल्को हुन्छ । तर त्यो मुस्कानभित्र लुकेको कथा धेरैलाई थाहा हुँदैन किनभने उनीहरु आफ्नो दुख लुकाएर बाँचीरहेका छन् । यो केवल विदेशमा पढ्न गएको कथा होइन—
यो त आफूलाई बचाइराख्ने, नहार्ने, र टिकिरहने संघर्षको कथा हो । किताबभन्दा भारी जीवन– विद्यार्थी भिसाले भन्छ—हप्तामा २० घण्टा काम । तर जीवन भन्छ “यति ले पुग्दैन ।” वर्षको महँगो ट्युशन, महिनाको चर्को खर्च,र सीमित आम्दानी । यी सबैबीच विद्यार्थीहरू दिनहुँ हिसाब गर्छन्—“आज कसरी गुजारा गर्ने ?” कतिपयका लागि नियम पालना गर्नु नै विलासिता जस्तो बन्छ र त्यहींबाट सुरु हुन्छ एउटा भित्री द्वन्द्व—सही र आवश्यकताको बीचमा अनिश्चित भविष्यको छायाँ ।
यहाँको सबैभन्दा ठूलो डर परीक्षा होइन—भिसा हो । नियमहरू बदलिन्छन्,नीतिहरू फेरिन्छन्, र भविष्य सधैं अन्योलमा झुन्डिन्छ । “पढाइपछि के ?” “बस्न पाइन्छ ?” “सबै सकिन्छ कि ?” यी प्रश्नहरूले मनलाई कहिल्यै शान्त बस्न दिँदैनन् ।
थाकेको मन र मौन पीडा
एक्लोपन, दबाब, र निरन्तरको चिन्ताले धेरै विद्यार्थीहरू भित्रभित्रै थाकिसकेका हुन्छन् । कसैसँग भन्न सक्दैनन्, कसैले बुझ्दैन जस्तो लाग्छ । र कहिलेकाहीँ मनले हार मान्न खोज्छ — “अब के गर्ने ?” त्यसैबेला कतैबाट आउँछ एउटा शब्द – “क्उयलकयचकजष्उ” अथवा “असाइलम” । तर त्यो बाटो सजिलो छैन । स्पोन्सरशिप पाउनु यहाँ भाग्य जत्तिकै दुर्लभ छ । महिनौँको दौडधूप, हजारौँ पाउन्ड खर्च, र अन्त्यमा पनि निश्चितता छैन । स्पोन्सर नपाएपछि एउटै कठोर वास्तविकता सामुन्ने आउँछ—सपना अधुरै छोडेर नेपाल फर्किनुपर्ने बाध्यता । अथवा “असाइलम” यो झन् जटिल, झन् पीडादायी, र अनिश्चित हुन्छ ।
अहिले बेलायतमा बदलिँदै गएका कडा नियम र कानुनी प्रक्रियाले यो बाटोलाई अझै कठिन बनाइरहेका छन् । लामो प्रतीक्षा, अनिश्चित निर्णय, काम गर्न नपाउने अवस्था र निरन्तर मानसिक दबाबले यो विकल्प झन् पीडादायी र थकाउने यात्रामा बदलिँदै गएको छ ।
डरमै बाँचेको दैनिकी
जब आप्mनो स्थिति कमजोर हुन्छ, दुनियाँ झन् कठोर बन्छ । घर पाउन गाह्रो, काममा शोषण सामान्य,र बोल्ने अधिकार लगभग शून्य । किनकि एउटा आवाजले पूरै जीवन हल्लिन सक्छ । ‘सबै ठिक छ’ भन्ने झुटो सान्त्वना नेपालमा फोन गर्दा सधैं एउटै उत्तर दिनुपर्छ ।
“म ठिक छु ।” तर वास्तविकता फरक हुन्छ—निद्रा हराएको हुन्छ,मन भारी हुन्छ र भविष्यप्रति डरले छाती च्यापेको हुन्छ । तर आमाबुवालाई दुःख नदिन सबै कुरा लुकाइन्छ । हरेक प्रश्नको उत्तर “ठीक छ” भनी फÞोनमा कुरा हुन्छ –अन्त्य होइन—सुरुवातको प्रश्न यो कथा दोषको होइन—यो बुझाइको हो ।
नेपाली विद्यार्थीहरू गलत बाटो खोजिरहेका छैनन् । उनीहरू केवल सही बाटो भेट्टाउन संघर्ष गरिरहेका छन् ।
समाधान के हो ?
–डर होइन ।
–गलत सल्लाह होइन। समाधान हो—
सही सूचना,
विश्वासिलो साथ,
र मानवीय दृष्टिकोण ।
उनीहरूलाई हेर्ने दृष्टि बदलौं
नेपाली विद्यार्थीहरू यहाँ अपराध गर्न आएका होइनन् ।
उनीहरू सपनाहरू साँच्न आएका हुन् । तर त्यो सपना पूरा गर्ने बाटो
आज अत्यन्तै कठिन भएको छ ।
अब समय आएको छ —
उनीहरूको कथा सुन्ने,
उनीहरूको पीडा बुभ्mने,
र उनीहरूलाई एक्लो नछोड्ने ।
किनकि यो केवल विदेशको कथा होइन—यो हजारौँ नेपाली युवाको वास्तविकता हो ।
बुटवल–८, सुखानगर
हाल बेलायत डार्टफोर्ड
