धुलिखेल, हिउँदमा धुलाम्मे, वर्षातमा हिलाम्मे हुने धुलिखेल, खावा सडक खण्ड ४ किमीमध्ये पहिलो चरणमा साढे २ किमी पिच कार्य प्रारम्भ भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउने कार्य अघि बढेको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि स्तरोन्नतिलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त खण्डमा पक्की बनाउन चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशले जानकारी दिनुभयो ।
उक्त अवधिभर टिपरसहित मालवाहक सवारीसाधानलाई पूर्णतः रोक लगाइएको सिनीयर डिभिजन इन्जीनियर योगेशले जनाउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिना भित्र दुई दशमलव पाँच किमी र आगामी वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ । उक्त सडकखण्डमा हाल ‘सिसीटिभी’ हाल्ने तयारी गरिएको सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताउनुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नतिका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरेपछि विभिन्न स्थानमा कटिङको काम सुरु भइसकेको उहाँको कथन थियो ।
डिभिजन सडकका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सिएन ए. वान. काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेको छ । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी काम गरिने उहाँको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने सिनियर डिभिजनल इञ्जिनियर योगेशले उल्येख गर्नुभयो । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको स्थानीयहरुले बताउँदै आएका छन् । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
मध्यपूर्वीय पहाडी जिल्लाहरु र चीन नाका सम्म पुग्ने जिल्ला सदरमुकाम धुलिखेल खावासम्मको उक्त सडक पिच समयमा निर्माण सम्पन्न नभएको कारण कार्यालयले गौरी पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले विसं २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी(पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्नुपरेको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको पिच डिबिएम र आस्फाल पिच गर्ने सडक डिभिजन कार्यालयले योजना बनाएको छ । वर्षा याममा हिलाम्मे हिउँदमा धुल्लाम्मे हुने उक्त सडक खण्ड पहिलो चरणमा साढे २ किमी सडक पिचको कार्य प्रासम्भले स्थानीय र यात्रुहरु हर्षित भएका छन् ।
