सेन्टलम एल्वम एकेडेमी श्रीखण्डपुरको २० औँ वार्षिकोत्सव, अभिभावक दिवस, एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मान एवं विदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्काले कार्यक्रमको उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयहरूले महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन पोटेले बदलिँदो समय अनुसार विद्यार्थीलाई सिक्ने, बिक्ने र टिक्ने शिक्षा आवश्यक रहेकोले ती सम्पूर्ण गतिविधिमा विद्यालयले ध्यान दिएर काम गरिरहेको जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवाली ले विद्यार्थीलाई संस्कार, संस्कृति र परम्परासँग जोड्दै आधुनिक प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै अध्ययनसँगै व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइएको बताउनुभयो । समारोहमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिनुका साथै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई विदाई गर्दै विशेष सम्मान गरिएको थियो । विद्यालयले एउटै परिवारका तीन जना सन्तान अध्ययन गराइरहेका अभिभावकहरूलाई विशेष सम्मान गरेको थियो भने विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। दीर्घ सेवा गर्ने दुई जना शिक्षक सम्मानित भएका थिए भने साना विद्यार्थीहरूलाई विभिन्न उपाधि प्रदान गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष, विभिन्न विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कोशाध्यक्ष भवसागर रञ्जीतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । शिक्षिकाद्वय निशा तामाङ, सृजना चौलागाईं र विद्यार्थी संस्कृती गिरिको टिमले संचालन गरेको कार्यक्रममा विद्यालय सन्चालक समितिका सचिव इश्वर महाजुले स्वागत मन्तव्य र प्रिन्सिपल अग्नी ज्ञवालीले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियोे ।
