सिद्धार्थ स्कुल तथा कलेज बनेपाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि वागमती प्रदेशका पुर्व सचिव डा.चन्द्र प्रसाद लुइँटेलले काभ्रेको शैक्षिक क्षेत्रमा सिद्धार्थ स्कुलले उल्लेखनीय कार्य गरेको भन्दै निजी शैक्षिक संस्थाहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, प्राविधिक तथा नैतिक शिक्षामा समेत केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति विद्यालय तथा कलेजका संस्थापक प्राचार्य एवं सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर के.सी.ले चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार र व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्दै सक्षम नागरिक निर्माणमा सिद्धार्थ स्कुलले निरन्तर योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो समयअनुसार शिक्षण पद्धतिलाई थप आधुनिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले शिक्षा क्षेत्र निरन्तर परिवर्तनशील भएकाले विद्यालयहरूले समयानुकूल नवीन सोच, आधुनिक शिक्षण विधि र प्रतिस्पर्धी वातावरण विकास गर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलले शुभकामना मन्तव्य दिँदै विद्यालयले हालसम्म हासिल गरेका शैक्षिक उपलब्धिलाई अझ उच्च स्तरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा थप प्रभावकारी योजना अघि बढाइने बताउनुभयो ।विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, नाटक तथा सिर्जनात्मक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय÷जिल्ला तहका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी, अभिभावक, विद्यार्थी, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका उप–प्रधानाध्यापक सुधिर न्यौपानेले गर्नुभएको थियो ।
