काभ्रे÷आगामी चैत्र १९ गते हुने माध्यमिक शिक्षा परीक्षा वोर्डबाट सञ्चालित (एसईई) २०८२ मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १९ विद्यालयबाट ३३ वटा परीक्षा केन्द्र मार्फत ६ हजार २ सय ८ जना विद्यार्थी सहभागि हुने भएका छन् । नियमित तर्फ ५ हजार ७ सय २७, प्राविधिक नियमित तर्फ २ सय १ र ग्रेडवृद्धी तर्फ २ सय ८० जना विद्यार्थीले परीक्षा दिने छन् । एसईई २०८१ मा भन्दा यो वर्ष १ सय ८३ विद्यार्थी कम छन् । त्यस्तै एउटा परीक्षा केन्द्र घटेको छ भने विद्यालय ४ वटा बढेको कुरा जिल्ला शिक्षा इकाइ काभ्रेले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल काभ्रेले आईतबार परीक्षा केन्द्र, विद्यालय तथा विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको हो । एसईई परीक्षा २०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित भएका थिए । ग्रेड बृद्धीका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित भएका थिए भने प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि भए । कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागि हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि थिए । गत वर्ष चैत्र ७ गते देखि परीक्षा संचालन भएको थियो ।
परीक्षाका लागि केन्द्राध्यक्ष छनौट, तालिम तथा उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याउने बाहेकका अन्य तयारी सकिएको परीक्षा शाखा प्रमुख पासाङ तामाङले जनाउनुभयो । यो वर्ष सबै भन्दा धेरै विद्यार्थी सञ्जिवनी मावी धुलिखेल केन्द्रमा हुनेछन् । जसमा ३ सय ११ जना विद्यार्थी ११ विद्यालयबाट सहभागि हुँदैछन् । त्यस्तै श्रीखण्डपुर मावीमा ३ सय ५ जना विद्यार्थी ३ वटा विद्यालयबाट सहभागि हुनेछन् । जसमा २ सय २७ जना विद्याकुञ्ज अनौपचारिक विद्यालयका विद्यार्थी छन् । महेन्द्र मावी साँगामा ५ वटा विद्यालयका ३ सय ५ जना विद्यार्थी सहभागि हुनेछन् । जसमा नेपाल प्रहरीका मात्रै २ सय २२ जना सहभागी हुने छन् ।
सामुदायीक तर्फ सबै भन्दा धेरै विद्यार्थी नमोबुद्ध नगरपालिकाको मेथिन्कोटमा रहेको जनक मावीमा छन् । उक्त विद्यालय जिल्लाकै धेरै विद्यार्थी परीक्षामा सहभागि गराउने सामुदायीक तर्फको पहिलो विद्यालय बनेको छ । एक सय भन्दा धेरै विद्यार्थी सहभागि हुने विद्यालयको संख्या तीनवटा छन् । ५० भन्दा धेरै विद्यार्थी भएका विद्यालयको संख्या ९ वटा मात्रै छन् । जनक मावी मेथिन्कोटबाट नियमित १०२+प्राविधिक ४१ गरी १४३ जना, भालेश्वर मावी पनौतीबाट ११६ जना, सञ्जिवनी मावी धुलिखेलबाट नियमित ९७ + प्राविधिक १८ गरी ११५ जना, विद्यार्थीले परीक्षा दिदैछन् । आजाद मावी वालुवाबाट नियमित ५२+ प्रावधिक ३१ गरी ८३ जना, चण्डेश्वरी मावी नालाबाट ७२ जना, कुशादेवी मावी पनौती कुशादेवीबाट ६१ जना, ग्रामोन्नती मावी बुढाखानी ६१ जना, गोकुले मावी गोकुले ५८ जना, सर्वमंगला मावी पाँचखाल ५१ जना रहेका छन् ।
संस्थागत विद्यालय तर्फ ५० जना भन्दा धेरै विद्यार्थी भएका विद्यालयहरु १० वटा मात्रै छन् । जसमा एक सय भन्दा धेरै विद्यार्थी रहेका विद्यालयको संख्या तीनवटा मात्रै छन् । नेपाल प्रहरी स्कुल साँगा २२२ जना, बेलर इन्टनरेशनल स्कुल बनेपाबाट ११४ जना, काभ्रे मावी बनेपा बुडोल १०२ जना, विद्यासागर स्कुल बनेपाबाट ८७ जना, एसओएस पनौती ७२ जना, काभ्रे मावी इबो पनौती ६५, एभरेस्ट एकेडेमी बनेपाबाट ६१ जना, काठमाडौ विश्वविद्यालय हाईस्कुल चौकोटबाट ६० जना, गोल्डेन फ्युचर मावी पाँचखालमा ५३ जना, क्षितिज इङलिस बोर्डिङ स्कुलबाट ५० जना विद्यार्थी सहभागि हुनेछन् । विद्याकुञ्ज अनौपचारिक मावि बनेपाबाट २२७ जना नियमित र ग्रेड बृद्धीमा २५ गरी २ सय ५२ जना छन् ।
५ भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या ६ वटा रहेको छ । वागदेवी मावी सल्लेमा ४ जना, कालिका मावी चलाल ३ जना, राम मावी चरुवाबाट ५ जना, फेमस बोर्डिङ स्कुलबाट ५ जना, बालनिकेतन मावीबाट १ जना, नागदेवी मावी माटे रोशीबाट ५ जना रहेका छन् । १० भन्दा कम भएका विद्यालयको संख्या ३८ वटा रहेको छ । सबै भन्दा कम संस्थागत तर्फ बालनिकेतन मावी बनेपाबाट १ जना मात्रै विद्यार्थी रहेका छन् भने सामुदायीक तर्फ बेथान्चोक गाउँपालिका वडा नम्वर ४ मा रहेको कालिका मावीबाट ३ जना विद्यार्थी एसईईमा सहभागीता जनाउने छन् ।
