गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिले भएको फागुण २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचित सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकमा उम्मेदवारी दिएकामध्ये ३५ जनाको जमानत जफत भएको छ । काभ्रे क्षेत्र नं. १ मा १८ र २ मा २४ गरि ४२ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवार दिएका मध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेका छैनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।
कूल एक लाख ६१ हजार १०० मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत ल्याए । समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए ।
यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङख्यक उम्मेदवार हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी भएका छन् । कांग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन नसकी जफत भयो ।
यसैगरी कूल एक लाख ६५ हजार ५११ मतदाता रहेको क्षेत्र नं २ मा एक लाख ६ हजार २१३ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा पाँच हजार ६२ मत बदर भएको थियो । सम्वैधानिक व्यवस्था अनुसार निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ । यस क्षेत्रका विजयी उम्मेदवार रास्वपाका बदन भण्डारी, नेपाली कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका अशोक व्याञ्जूबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्दा जमानत भने जोगाउन सकेनन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले तीन हजार ७४९ तथा राप्रपाका रञ्जीव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्दा जमानत जोगिएन ।
यसैबीच जिल्लास्थित मुख्य निर्वाचन कार्यालयको मत परिणामअनुसार अधिकांश उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवारमा केशवराज तिमिल्सिनाले ४, लेनिन विष्टले ८, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, डिल्ली न्यौपानेले ३१, आशा तामाङले ५९ तथा मितेरी पार्टी नेपालका उम्मेदवार हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मङ्गोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत प्राप्त गरेका हुन् । यस क्षेत्रको निर्वाचनमा रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत ल्याई फराकिलो अन्तरले विजयी भएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८६८ र एमालेका अशोक व्याञ्जूले १३ हजार ९४० मत प्राप्त गरेका छन् ।
