नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन् । हिजो सामाजिक सञ्जालमार्फत् उनले क्रान्ति यात्राकै क्रममा चुनाव आएकोले यसलाई पार्टीले संघर्षको मोर्चाको रूपमा प्रयोग गरेको तर्क गरेका छन् । ‘क्रान्तिको यात्रामा चुनाव आयो । चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग ग¥यौं,’ उनले भनेका छन्, ‘१३० ठाउँमा कमरेडहरू पार्टीको निर्णय अनुसार जोस र उत्साहका साथ मोर्चामा नेतृत्व गर्नुभयो । एकदमै मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार, नीति र उद्देश्य राख्नु भयो ।’
महासचिव विप्लवले चुनावका क्रममा जनताले सबैतिर सकारात्मक सद्भाव राखेको जिकिर गर्नुभयो । ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो । संसद्मा पुगेर मात्र होइन, जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ,’ उनले लेखेका छन् । विप्लपले भनेका छन्, ‘पूँजीवाद रहेसम्म समाजवादी–साम्यवादी क्रान्ति जारी रहनेछ ।’ नेकपा (माओवादी) ले सोमबार साँझसम्म समानुपातिकतर्फ देशभरिबाट २२ हजार ११८ मत पाएको छ भने प्रत्यक्षतर्फ पनि उम्मेदवारहरूले निकै कम मात्र मत प्राप्त गरेका छन् ।
