काभ्रे जिल्लाका दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा १० हजार ३९ मत बदर भएको छ । ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेकोमा झण्डै ५९ प्रतिशत मत खसेको छ । निर्वाचन परिणामको तथ्यांकअनुसार दुवै क्षेत्रमा गरी करिब १० हजार मत बदर भएको २ नम्बर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसले मतदाता शिक्षा र मतदान प्रक्रियाबारे थप सचेतनाको आवश्यकता औंल्याएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता रहेको जनाउनुभयो । तीमध्ये १ लाख ४ हजार ६ सय ४२ मतदाता मतदानमा सहभागी भएका छन् । यस आधारमा उक्त क्षेत्रमा करिब ६४ प्रतिशत हाराहारी मत खसेको थियो । क्षेत्र नम्बर २ मा खसेको कुल मतमध्ये ९९ हजार ५ सय ८० मत सदर भएको छ भने ५ हजार ६२ मत बदर भएको छ । अर्थात् कुल खसेको मतमध्ये झण्डै पाँच प्रतिशत मत बदर भएको देखिन्छ ।
त्यसैगरी काभ्रे निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ६१ हजार १ सय मतदाता रहेका थिए । तीमध्ये ९१ हजार १ सय १ मत खसेको थियो । यस हिसाबले यस क्षेत्रमा करिब ५६ दशमलब ५७ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर १ मा खसेको मतमध्ये ८६ हजार १ सय २४ मत सदर भएको छ भने ४ हजार ९ सय ७७ मत बदर भएको छ । यो कुल खसेको मतको झण्डै साढे पाँच प्रतिशत बराबर हो । दुवै निर्वाचन क्षेत्रको तथ्यांक जोड्दा काभ्रेपलाञ्चोकमा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेका थिए । तीमध्ये १ लाख ९५ हजार ७ सय ४३ मत खसेको छ । खसेको मतमध्ये १ लाख ८५ हजार ७ सय ४ मत सदर भएको छ भने १० हजार ३९ मत बदर भएको तथ्यांकले देखाएको छ । प्रतिशतका आधारमा हेर्दा जिल्लाभर करिब ५.१ प्रतिशत मत बदर भएको देखिन्छ ।
क्षेत्र नम्बर २ मा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ भने क्षेत्र नम्बर १ मा करिब ५६ प्रतिशत मात्र मत खसेको छ । ग्रामीण क्षेत्रमा मतदानप्रति उत्साह देखिए पनि शहरी क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका मतदाताका कारण समग्र सहभागिता अपेक्षाभन्दा कम देखिएको हुन सक्छ । दुवै क्षेत्रमा गरी १० हजारभन्दा बढी मत बदर हुनु निर्वाचन व्यवस्थापन र मतदाता शिक्षाका लागि चुनौतीका रूपमा हेरिएको छ । मतपत्रमा गलत चिन्ह लगाउने, एकभन्दा बढी चिन्ह लगाउने वा मतपत्र ठीकसँग मोड्न नसक्ने जस्ता कारणले बदर मत हुने गरेको निर्वाचन अधिकारीहरूको भनाइ छ । काभ्रेपलाञ्चोकमा देखिएको मतदाता सहभागिता र बदर मतको तथ्यांकले निर्वाचनमा जनसहभागिता सन्तोषजनक भए पनि मतदाता सचेतना बढाउन अझै काम गर्नुपर्ने आवश्यकता देखाएको छ । मतदाता शिक्षाका लागि निर्वाचन आयोग मार्फत १ सय ३५ वडामा नै मतदाता शिक्षकहरु खटिएका भएपनि मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइएको छ ।
