IMG-LOGO

इसा मेमोरियल स्कुलको दीक्षान्त समारोह

 मंगल, फागुन १९, २०८२  --

      इसा मेमोरियल स्कुल बनेपाको २० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । काभ्रेको शैक्षिक क्षेत्रमा दुई दशकदेखि उज्यालो तारा झैँ चम्किँदै आएको विद्यालयको उक्त कार्यक्रम प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता एवं विद्यालयका संस्थापक अध्यक्ष सुर्यप्रभा शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि केसीले प्राथमिक तहमा काभ्रेकै नमूना विद्यालयको रूपमा स्थापित गर्न सफल भएको भन्दै विद्यालय परिवारलाई बधाई ज्ञापन गर्नुभयो । अध्यक्ष शाक्यले सुरुवाती संघर्षका दिनहरू सम्झँदै आजको उपलब्धि सबैको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्नुभयो । विद्यालयका प्रिन्सिपल प्रशन्न जोशीका अनुसार वि.सं. २०६० सालमा “चाइल्ड केयर” को रूपमा ६ जना विद्यार्थीबाट सुरु गरिएको  शिक्षा औपचारिक विद्यालयका रूपमा वि.सं. २०६५ सालदेखि सञ्चालनमा आएको हो । हाल विद्यालयमा ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य, पोषण र सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै विद्यालय परिसरमै स्वच्छ तथा पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको जनाएको छ । प्राकृतिक रूपमा घाम लाग्ने अनुकूल स्थानमा अवस्थित विद्यालय भवन भूकम्प प्रतिरोधी कोरियन प्रविधिबाट निर्माण गरिएको छ, जसले जाडोमा न्यानो र गर्मीमा शीतल वातावरण प्रदान गर्ने विशेषता बोकेको बताइएको छ । विद्यालयलाई क्रमशः कक्षा १० सम्म विस्तार गर्ने लक्ष्यसहित अगाडि बढिरहेको जानकारी दिँदै विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त अवसरमा ६८ जना युकेजीका विद्यार्थीहरु दीक्षान्त समारोहमा सहभागी भएका थिए । दीक्षित विद्यार्थीहरूको आत्मविश्वासपूर्ण उपस्थिति, अभिभावकहरूको खुशी र शिक्षकहरूको गर्वले वातावरण उल्लासमय बनेको थियो । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा नगरपालिका वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य लगायत काभ्रे प्याब्सन र बनेपा प्याब्सनका पदाधिकारीहरू, अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु सम्पन्न भएको थियोे ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्