नेपाल प्रेस युनियन काभ्रेले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पुजन धिताल सम्मानित भएका छन् । शुक्रबार उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा धिताललाई नगद ५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको हो । बि. स. २०६६ सालमा डाँडापारीबाट ललितपुरको गोटिखेल जाने क्रममा सवारी दुर्घटनाबाट मृत्यु वरण गरेकी स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा परिवारले यो पुरस्कार प्रदान गर्दै आएको हो । धितालले यस वर्ष डाँडापारी क्षेत्र समेटेर कृषि, सडक र शिक्षा क्षेत्रमा लेखेका समाचारका आधारमा मूल्याङ्कन समितिको मूल्याङ्कन अनुसार पुरस्कृत गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै संरक्षक स्वर्गीय उर्मिला सापकोटाका बुबा गोपालकृष्ण सापकोटाले डाँडापारी क्षेत्रका समस्या समेटेर समृद्ध डाँडापारी निर्माणका लागि कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने यो दिनले आफूलाई छोरीको तिथि सम्झाउने बताउनुभयो । सोही समयमा प्रेस युनियन काभ्रेका प्रदेश पार्षद हिराकाजी लामाको अल्पायुमा नै निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले युनियनले आयोजना गर्ने यस पत्रकारिता पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्दै आएको र यसको निरन्तरताका लागि संरक्षक परिवारजनमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको सम्मान समारोहमा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्षहरू, पेशागत सङ्गठनका अध्यक्षहरू लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
