टोकियो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा ८०औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘लालगोपालसँग कविता साँझ’ कार्यक्रम यहि फेब्रुअरी २१ तारिख शनिबार टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि तथा गीतकार लालगोपाल सुवेदीको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमको प्रारम्भमा विशिष्ट अतिथिहरूलाई एकमुस्ट आसनग्रहण गराइएको थियो भने संस्थाका सचिव नारायण पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि सुवेदीले करिब एक दर्जन आफ्ना कवितामा स्वर दिँदै अनेसासको साहित्यिक यात्रा, उद्देश्य र भावी दिशाबारे प्रेरणादायी मन्तव्य राखे । आफ्नो सम्बोधनका क्रममा सुवेदीले भने–“अनेसास जापान च्याप्टर अनेसासकै मेरुदण्ड हो” । सुवेदीले प्रवासमा साहित्यिक अभियानलाई अझ सशक्त बनाउने आवश्यकता समेत औँल्याए । साथै, “अबको नेपाली साहित्यलाई नोबेल पुरस्कारको ढोकासम्म पु¥याउनु पर्छ, त्यसका लागि धेरै काम गर्नुपर्ने छ” भन्दै गुणात्मक सिर्जनामा जोड दिन आग्रह गरे ।
सुवेदीका कविताहरू अनेसासका पूर्व अध्यक्ष तथा संरक्षक दिनेश राज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा तथा सल्लाहकार सविना रेग्मीले वाचन गरेका थिए । अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले स्रष्टाको परिचय प्रस्तुत गरेका थिए भने अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै अवसरमा युको ओकामोतो, लक्ष्मी राई, मन्जु गिरी, प्रविण पोख्रेल, नविन कँडेल, पूजा अर्याल, हरिबिनोद अधिकारी तथा विष्णु सुवेदी ‘निशान’ लगायतका कविहरूले पनि आफ्ना कविता वाचन गरी साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थिए । साथै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्रराज पौडेलको गीतले कार्यक्रमलाई थप सांगीतिक बनाएको थियो ।
कार्यक्रममा केही समयअघि स्वर्गीय भएका गायक प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुवेदीको शब्दमा रहेको ‘बिछोडको करौतीले’ बोलको गीत गिरिजा गैह्रेको नेतृत्वमा सामूहिक रूपमा प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई भावुक र स्मरणीय बनाएको थियो ।
कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष सरोज घिमिरेले कार्यक्रमबारे मन्तव्य प्रस्तुत गरेका थिए भने सचिव विनिशा सापकोटाले कार्यक्रम संचालन गरेकि थिइन् । जापानको व्यस्तताको बाबजुद करिब ७ दर्जन जति साहित्यानुरागीहरुको सहभागिताले कार्यक्रमलाई सफल, गरिमामय र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ ।
