IMG-LOGO

जिल्ला सहकारी संघ काभ्रेको समिक्षा

 मंगल, फागुन १२, २०८२  --

     जिल्ला सहकारी संघ लि. काभ्रेको आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम संघको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा संघका सल्लाहकार मुकुन्द प्रसाद दाहाल तथा सोम प्रसाद हुँमागाई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । साथै संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीहरू गरी जम्मा ३२ जनाको सहभागिता रहेको थियो ।

     कार्यक्रमको प्रारम्भमा संघकी वरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै अर्धवार्षिक समीक्षाले संस्थाको कार्यसम्पादन मूल्याङ्कन, लक्ष्य प्राप्तिको अवस्था विश्लेषण तथा आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सबै सहभागीहरूलाई रचनात्मक सुझावमार्फत संस्थालाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो ।

     यस अवसरमा संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठ द्वारा आर्थिक वर्ष २०८२÷०८३ को श्रावण १ गतेदेखि पौष मसान्तसम्मको समग्र प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रस्तुत विवरणमा संघको वित्तीय अवस्था, आम्दानी–खर्चको स्थिति, विभिन्न शीर्षकमा भएको लगानी, सदस्य संस्थासँगको वित्तीय कारोबार, सेवा प्रवाहको अवस्था तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी गतिविधिहरू समेटिएका थिए । साथै गत आर्थिक वर्षको सोही अवधिसँग तुलनात्मक विश्लेषण प्रस्तुत गर्दै आय वृद्धि, खर्च नियन्त्रण, पूँजीको अवस्थिति तथा नाफा–नोक्सानको तुलनात्मक तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

     प्रस्तुतीकरणका क्रममा पौष मसान्तसम्म संघले सञ्चालन गरेका प्रमुख कार्यक्रम तथा गतिविधिहरूको पनि जानकारी गराइएको थियो । यस अन्तर्गत सदस्य संस्थाहरूको अनुगमन तथा सुपरिवेक्षण, क्षमता अभिवृद्धि तालिम, वित्तीय सुदृढीकरण सम्बन्धी पहल, आन्तरिक व्यवस्थापन सुधारका कदम तथा नीति–निर्देशन कार्यान्वयनको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो । साथै सेवाकेन्द्र व्यवस्थापन, प्रशासनिक सुधार र सदस्य सेवाको गुणस्तर अभिवृद्धिका लागि गरिएका प्रयासहरूबारे पनि जानकारी गराइएको थियो ।

     प्रस्तुतीकरण पश्चात् उपस्थित सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य तथा अन्य सहभागीहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्दै विविध सल्लाह, सुझाव तथा जिज्ञासाहरू व्यक्त गरेका थिए । विशेषगरी वित्तीय अनुशासन सुदृढीकरण, जोखिम व्यवस्थापन, सदस्य संस्थासँगको समन्वय अभिवृद्धि, तालिम तथा अनुगमन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा सुझावहरू प्रस्तुत गरिएको थियो ।

     उपस्थित सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष अमन पोटे श्रेष्ठले संघको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अर्धवार्षिक समीक्षाबाट प्राप्त सुझावहरूलाई आगामी कार्ययोजनामा समावेश गर्दै संघलाई थप सुदृढ र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गरिने बताउनुभयो । कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश बन्जाराले गर्नुभएको थियो । समग्र कार्यक्रम संयमित, उपलब्धिमूलक तथा सहभागितामूलक वातावरणमा सम्पन्न भएको संघले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्