बनेपा, नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले चर्चेको जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति स्थानीयवासीले सर्वत्र विरोध जनाएका छन् । नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयमा सञ्चालन हुने पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा व्यवस्थापन गरी हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन शिक्षालय प्रशासनलाई पत्राचारसमेत गरिएको छ । उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ । तर, नगरपालिकाको यस निर्णयप्रति स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले प्रविधिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै सञ्चालनमा रहेको प्राविधिक शिक्षालयलाई नगरबाट नै जायज नभएको बताएका छन् ।
स्थानीयहरूको भनाइमा प्राविधिक शिक्षाले युवाहरूलाई सीपमूलक दक्षता र रोजगारीको अवसर प्रदान गर्दै आएको अवस्थामा शिक्षालय नै उठाउने निर्णय दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । पछिल्लो समय सामाजिक सञ्जालमा समेत नगरपालिकाको निर्णयप्रति व्यापक चासो र बहस देखिएको छ । धेरैले शिक्षालय हटाउनु ठूलो भूल हुने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् । यस विषयमा नगरपालिकाको थप आधिकारिक धारणा आउन बाँकी छ ।
