जिल्लामा ३ हजार २ सय ९० जना बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप उपलब्ध गराउने तयारी गरिएको छ । कक्षा ६ अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुका लागि उक्त खोप सेवा उपलब्ध हुनेछ । अभियानमा गत वर्ष छुटेका उमेर समुह भित्र पर्ने किशोरी तथा छात्राहरुका लागि पनि खोप सेवा उपलब्ध गराइने छ ।
धुलिखेलमा २५९, बनेपामा ९५५, पनौतीमा ५००, पाँचखालमा २८४, मण्डनदेउपुरमा २३०, नमोबुद्धमा १८७, भुम्लुमा ८३, चौरीदेउरालीमा ९८, तेमालमा ७८, रोशीमा २०३, महाभारतमा १६६, खानीखोलामा १३१ र बेथान्चोक गाउँपालिकामा ११६ जना गरी ३ हजार २ सय ९० जना बालिकाहरुलाई खोप लगाईनेछ । खोप लगाउनेहरु मध्ये गत वर्ष छुटेका ११–१४ वर्ष उमेर समुहका गत वर्ष छुटेका १८ जना, कक्षा ७–१० अध्ययन गर्ने ९७ जना, १० वर्षका ८ जना र यो शैक्षिक सत्रमा कक्षा ६ मा अध्ययन गर्ने ३१६७ जना रहेका छन् ।
माघ २३ गते शुरु गरी २८ गते चौरीदेउराली गाउँपालिकाले अभियान सम्पन्न गर्नेछ । पनौतीले माघ २५ देखि शुरु गरी २९ गत समापन गर्नेछ । पाँचखालमा २६–२९, धुलिखेलमा २७–२९, बनेपामा २७–फागुन २, मण्डनमा २८–२९, नमोबुद्ध २८–३०, भुम्लुमा २६–२८, तेमाल २८– फागुन १, रोशी २६–फागुन १, महाभारतमा फागुन ४–५, खानीखोलामा फागुन ५–७ र बेथान्चोकमा माघ २८ देखि फागुन १ गतेसम्म खोप अभियान संचालन हुनेछ ।
जनस्वास्वाथ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खोप अभियानका बारेमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई अभिमुखिकरण तथा अभियानको कार्य तालिकाका बारेमा आवश्यक समन्वय गरिएको बताउनुभयो । अभियानले तोकेका उमेर समुहका किशोरी छात्राहरु सबैलाई खोप लगाउने गरी अभियान संचालन हुने उनले बताईन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर रोगको संक्रमण हरेक वर्ष २ हजार १ सय ६९ जनामा हुने गरेको छ भने सोहि कारण १ हजार ३ सय १३ महिलाले ज्यान गुमाउनु परेको छ । दैनिक ४ जना महिला पाठेघरको मुखको क्यान्सर रोगको संक्रमणबाट रोगका कारण ज्यान गुमाउने अवस्थामा पुगेका तथ्याङ्क छ ।
