सहकारी संस्थाको दर्ता अभिलेखिकरण गर्ने समयावधि १ महिना थप भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले शुक्रबार सुचना जारी गर्दै माघ १० गते सम्म दर्ता अभिलेखिकरण गर्नुपर्ने समयावधि थप गरेको हो । २०८२ फागुण ११ गतेसम्ममा सम्पूर्ण सहकारी संस्थाहरुले दर्ता अभिलेखिकरण गरिसक्नुपर्ने जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थले जानकारी दिनुभयो । काभ्रेमा रहेका सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरणमा जिल्ला बचत संघ काभ्रेले सहजीकरण गरिदिने अध्यक्ष कायस्थले बताउनुभयो । बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले सहकारी ऐन २०७४ त्यसपछि जारीभएको सहकारी नियमावली निर्देशीका राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन सँगै कानुनी कार्यान्वयनमा तदारुकता देखाएको बताउनुभयो । प्रमुखकार्यकारी अधिकृत ढकालले एकै प्रकृतिको सहकारीमा एक व्यक्ति सञ्चालक र एक व्यक्ति एकै प्रकृतिको सहकारीमा सदस्यता आवद्ध हुन पाउने कानुनी व्यवस्थालाई परिपालन गरी जिल्लामा रहेका सहकारीहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सञ्चालक समिति, लेखा समितिको विवरण, वित्तीय विवरण पेश गर्नुपर्ने हुँदा समय सिमा भित्र नै कार्य सम्पन्न गर्न सहकारीका सञ्चालक र कर्मचारीहरुलाई आग्रह गर्नुभयो । प्राधिकरणको मापदण्ड पुरा गरेपछि मात्र सहकारी संस्थाहरुले आर्थिक कारोबार गर्ने अनुमति पत्र प्राप्त गर्न सक्ने कानुनी प्रावधान रहेको कुरा जिल्ला बचत संघका सहायक प्रमुख कार्यकारी अधिकृत रवि केसीले बताउनुभयो ।
