क्यान्सर प्रभावित गरिब एवं आर्थिक रुपमा विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूहरूलाई आर्थिक सहयोग पु¥याउने उद्देश्यले जनवरी १ तारिख देखि थालिएको मध्य पहाडी लोकमार्ग साइकल अभियान यात्रा टोली १९ औं दिन आइतबार बागलुङस्थित बुर्तिबाङ आईपुगेको छ । यस टोली सोमबार गण्डकी प्रदेशबाट लुम्बिनी प्रदेशको रुकुम पूर्व लाग्नेछ । धौलागिरी साइकल राइडर सोसाइटीका संयोजक सुबास शाही एवं होटल दरबारका प्रोपाइटर सुजन थापाको संयोजकत्वमा यस अभियान टोलीलाइ आर्थिक सहयोगका साथै आतिथ्यता प्रदान गर्नु भएको थियो ।
बुर्तिबाङ आउने क्रममा बिहुँ स्थित अमर माध्यमिक विद्यालयका करिब २५० विद्यार्थीहरुलाई उक्त टोलीका प्रा.डा. सुमन राज ताम्राकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि प्रस्तुती दिनुभयो । प्रा. डा. ताम्राकारले त्यस कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई आफ्ना महिला अभिभावकहरुलाइ पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट बच्न क्रमशः पाठेघरको मुखको पानीको जाँच र म्यामोग्राम गराउन भन्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी स्कुले किशोरीहरुलाइ नियमित तवरमा स्तनको स्वयं परीक्षण गर्न सुझाउनु भयो । उक्त कार्यक्रममा विद्यालयका प्रअ भीष्म कँडेल, सहायक प्रअ गणेश लगायतका शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो । निकै अन्तरक्रियात्मक रहेको उक्त क्यान्सर सम्बन्धी स्वास्थ्य चेतना कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा संचालन भईरहेको उक्त साइकल यात्रा अभियान दौरान पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, सिन्धुपाल्चोक, गोरखा, कास्की र बाग्लुङमा गरि ११ स्थानमा करिब १५०० भन्दा बढि महिला दिदीबहिनी तथा विद्यार्थीहरु लाभान्वित भइसकेका छन् ।
