बनेपा । आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्वमा ’धुलिखेल महोत्सव कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धन–२०८२’ यही कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म धुलिखेल रंगशालामा हुने कुरा क्लबका अध्यक्ष पुकार चोच्छे श्रेष्ठले हिजो धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।
महोत्सवले धुलिखेलको सांस्कृतिक, ऐतिहासिक र भौगोलिक पहिचानलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्य लिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कृषि, पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनका विभिन्न स्टलहरू राखिने छन् । करिब १०० वटा स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, घरेलु प्रविधि, पर्यटन र संस्कृतिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछन् ।
मेला अवधिभर धुलिखेलका जात्राका रथ, ऐतिहासिक फोटो प्रदर्शनी तथा धुलिखेलको ऐतिहासिक जात्रा र परम्परा झल्काउने विशेष स्टलहरू पनि रहनेछन् । आयोजकका अनुसार, शुक्रबार र शनिबार विद्यार्थीका लागि ५० रूपैयाँ प्रवेश शुल्क रहनेछ भने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । बाँकी दिनमा सामान्य प्रवेश शुल्क तोकिएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, बाल–बालिका र परिवारमैत्री गतिविधिहरू समेत हुनेछन् । धुलिखेललाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नगरको आर्थिक तथा सामाजिक विकासमा नयाँ ऊर्जा दिने आयोजक क्लबले जनाएको छ । कार्यक्रमको व्यवस्थापक लालिगुरास क्रियसन मिडिया नेपालले गर्नेछ । धुलिखेल नगरपालिकाका १२ वटै वडाका लागि कृषि र पर्यटनका प्रदशर्नी स्टल राख्न निःशुल्क उपलब्ध गराउने छ । जेष्ठ नागरिकहरुलाई प्रवेश शुल्क निःशुल्क गरेको आयोजकले जनाएको छ । कार्यक्रमको संचालन इन्द्र विन्दासले गर्नुभएको थियो । करिब ७० हजारले अवलोकन गर्ने र १ करोडको कारोबार हुने महोत्सव आयोजकले अनुमान गरिएको छ ।
