काभ्रे — पनौती स्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका एकाइमा एकाइगत रूपमा साधारण सभा सम्पन्न गरिएको थियो । ‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’को लक्ष्यसहित समुदायमा आधारित भएर सञ्चालन भइरहेको ज्योति मिर्मिरे साकोसमा हाल २० हजार ७८२ शेयर सदस्य र २ हजार ६० बाल बचतकर्ता आवद्ध छन् । संस्थाले १ अर्ब ४२ करोड रुपैयाँ पुँजी संकलन गरी काभ्रेपलाञ्चोक जिल्लाभर वित्तीय तथा गैर–वित्तीय सेवा विस्तार गर्दै आएको कोषाध्यक्ष पूर्णराम तुलाधरले जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन २०८२ असोज २५ गते कुशादेवी र बेथानचोक एकाइमा गरिएको थियो भने असोज २६ गते रोशी, बल्थली र बनेपा एकाइ र असोज २८ गते मुख्य कार्यालय पनौतीमा संस्थाका अध्यक्ष उद्धव सापकोटाले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो ।
सचिव बुद्धसिंह थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति र आगामी योजना सार्वजनिक गर्नुभएको थियो । लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण संयोजक केशव बञ्जाराले ऋण लगानी तथा असुली प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विभिन्न प्रतिवेदनहरूमा संस्थाले आधुनिक प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय र प्रतिस्पर्धी सेवा प्रदान गरिरहेको उल्लेख गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभयो । हालसम्मको शेयर पुँजी १२ करोड ७४ लाख ५६ हजार ७ सय रुपैयाँ, बचत (निक्षेप) १ अर्ब ११ करोड २२ लाख ६० हजार ७ सय ९१ रुपैयाँ, ऋण लगानी १ अर्ब ५ करोड ७४ लाख १६ हजार १ सय ४३ रुपैयाँ, तथा जगेडा कोष ८ करोड ८३ लाख ७९ हजार ६ सय ५ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
सदस्य मृत्यु राहत, परिवार मृत्यु राहत, उपचार तथा गर्भवती पोषण सहयोग, जेष्ठ तथा अपाङ्ग सदस्य भत्ता, र ऋणी सदस्य मृत्यु राहतलगायतका शीर्षकमा संस्थाले यस आर्थिक वर्षमा ४० लाख ५२ हजार रुपैयाँ बराबरको राहत सहयोग वितरण गरेको कुरा प्रमुख कार्यकारी अधिकृत दाहलले जनाउनु भयो । साधारण सभामा उत्कृष्ट ऋणी, बचतकर्ता र बाल बचतकर्ता सहित १९ जनालाई सम्मान गरिएको थियो ।
