IMG-LOGO

महाभारत गाउँपालिकामा सडक सञ्जाल अवरुद्ध

 मंगल, असोज २८, २०८२  --

 

पालिका जोड्ने जनमुक्ति मार्ग भने सुचारु

अविरल वर्षा कारण काभ्रेको महाभारत गाउँपालिकाका सडक सञ्जालबाट पूर्ण रूपमा अवरुद्ध भएको छ । २०८२ असोज १७ र १८ गतेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोले महाभारत तहसनहस भएको हो । महाभारतमा करिब एक सातादेखि सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ भने स्थानीयको जनजीवन कष्टकर बनेको छ । बिपी राजमार्गको मंगलटार र चौकीडाँडाबाट दक्षिणतर्फ अवस्थित महाभारत १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । महाभारत लेकले घेरिएको सो गाउँपालिकाको पूर्वमा सिन्धुलीको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै कोखाजोर खोला रहेको छ । पश्चिममा खानीखोला गाउँपालिका र चाउखोलाले घेरिएको छ भने उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै म्हाबर लेक रहेको छ ।

वर्षाका कारण बिपी राजमार्ग भएर महाभारत जाने सबै सडकहरू बाढी र पहिरोले बन्द रहेको छ । रोशी खोलाको बाढी र बिपी राजमार्गको सडक कटान पछि नाका नै ठप्प बनेको महाभारतमा विद्युत र सञ्चार समेत बन्द थियो । बिपी राजमार्ग हुँदै जानुपर्ने भएकोले महाभारत जाने कुनै विकल्प नभएको सडक सञ्चलनको लागि इन्धन समेत ढुवानी गर्न नसकेको कुरा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । बिपी राजमार्गको चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी हुँदै महाभारत जाने सडक सबै अवरुद्ध छन् । सडक समस्या समाधानका लागि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारसम्म पहल समेत गरे ।

यसअघि अध्यक्ष जिम्बाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँग पनि भेट गरी विपद्बाट क्षतिग्रस्त निजी घर तथा अन्य संरचना पुनर्निर्माणका लागि स्थानीय तहबाट विवरण सङ्कलन गरी तत्काल राहत र सहयोग उपलब्ध गराउने विषयमा छलफल गरेका थिए । उनले केही दिन अघि ऊर्जा, सहरी विकास तथा भौतिक योजना मन्त्री कुलमान घिसिङसँगको भेटवार्तापछि बाढीले बगाएको पुल तत्काल पुनर्निर्माण गर्ने र अवरुद्ध राजमार्ग खुलाउने विषयमा ध्यानाकर्षण समेत गराएका थिए । उहाँका अनुसार रोशी खोलाको थान्सिङबेँसीमा रहेको पुल बाढीले बगाएपछि गाउँपालिकाको सम्पर्क टुटेकाले मर्मतको काम तत्काल गर्न सङ्घीय सरकारसँग समन्वय गरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष जिम्बाका अनुसार मन्त्री घिसिङसँगको छलफलमा तत्काल यातायात सुचारु गर्न अवरुद्ध बिपी राजमार्ग तत्काल खुलाउने, रोशी खोलाको थान्सिङबेँसीमा तत्कालका लागि बेलीब्रिज राखेर आवागमन सहज बनाउने र सोही स्थानमा दीर्घकालका लागि पक्की पुल निर्माणको प्रक्रिया अघि बढाउने सहमति भएको छ । ‘बाढीले बगाएको पुलको पुनर्निर्माणका लागि संघीय सरकारसँगको समन्वयमा तत्काल बेलीब्रिज र पछि पक्की पुल बनाउने निर्णय भएको छ । तत्कालका लागि ह्युमपाइप राखेर भए पनि बाटो सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

बिपी राजमार्ग अवरुद्ध भएकाले गाउँपालिकाभित्रका अन्य सडक मर्मत गर्न आवश्यक डिजेल ढुवानी गर्न नसकिएको बताउनुभयो । महाभारत क्षेत्रमा यातायात सहज बनाउन तारखसे, सिपाली र जनमुक्ति मार्ग खोल्ने प्रयास भए पनि इन्धन नहुँदा मेसिनहरू थन्किएको उनको भनाई छ । ‘पहिरो पन्छाउन गाउँपालिकाको मेसिनहरू तयारी अवस्थामा छन् । तर इन्धन नभएकाले काम गर्न निकै कठिन भएको उल्येख गर्नुभयो । गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार पालिका जोड्ने जनमुक्ति मार्ग भने हिजो देखि सुचारु भएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्