काभ्रे, २०८२ असोज १७ र १८ गते गएको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ । शनिबार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । शुक्रबार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको र बाँकी दिउँसो मङ्गलटारको माम्तीमा ट्रयाक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको जनाएको छ ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँशी, गिम्दीबेँशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबँेशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
राजमार्गको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेका छौँ, खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्दैछौँँ, शनिबार बिहानदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, योगेशले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । गत मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण कार्यको प्रारम्भ गरेको थियो ।
योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताउनुभयो । बाढीपहिरोले राजमार्गको १४ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । गत वर्षको बाढीपहिरोले पनि विपि राजमार्ग दुई हप्तासम्म अवरुद्ध भइ पुन सञ्चालन भएको थियो । मध्य पहाडी भुभागका जोड्ने देखि पूर्वी नेपाल जोड्ने राजमार्गको रुपमा लिइन्छ । चार खण्डमा निर्माण प्रक्रिया थालिएको राजमार्ग स्थयि निर्माण झन जतिल बन्दै भएको छ ।
