जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलले लकडाउन केहि खुकुलो गरेको छ । कोभिड-१९ संक्रमणको अवस्था काभ्रे जिल्लामा पनि घट्दो अवस्थामा रहेकाले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८, संक्रमण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी जिल्ला भरी असार २१ गते राती १२ बजेबाट ३१ गते सम्म निषेध आदेश जारी गरेको छ । सार्वजनिक तथा नीजी सवारी साधन सञ्चालनको हकमा, जिल्ला भित्र सञ्चालन हुने सवारी साधनहरु सिट क्षमता भन्दा बाहेक बढी संख्यामा यात्रु नराखी विहान ६ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन गर्न पाउने छन् । निर्धारित स्वस्थ्य मापदण्ड पुरा गर्नुपर्ने छ ।
विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनहरुको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी जिल्ला भित्र खपत हुने सामग्रीको हकमा साँझ ५ बजे पछि विहान ८ बजे सम्म जिल्ला बाहिर खपत हुने सामग्रीहरुको सन्दर्भमा राती ९ बजे देखि विहान ५ः०० बजे सम्म सञ्चालन गर्ने । पसल तथा सटरहरु सञ्चालन गरी व्यवसाय गर्न विहान ६ बजे देखि साँझ ७ बजे सम्म सुरक्षा मापदण्ड पुरा गरी सञ्चालन गर्न सक्ने छन् । निषेध अवधिभर विवाह ब्रतवनध जस्ता सांस्कृतिक संस्कार जन्य कार्यहरु सञ्चालनका लागि स्वास्थ्य मापदण्ड पुरा गरी १५ जना भन्दा बढी नहुने गरी २ वटा सवारी साधन प्रयोग गर्न सकिने छ । निषेध अवधिभर होटल, रेष्टुरेन्टहरुले टेक वे र होम डेलीभरी सेवा दिन सक्ने छन् । सबै प्रकारका जुलुस, भेला, गोष्ठी, पाट्री प्यालेस, जीमखाना, व्यूटी पालर, शैलुन भने सञ्चालन गर्न पाइने छैन् । निषेध अवधि भर आदेश अवहेलना गरेको खण्डमा कानुन अनुसार कारवाही गरिने कुरा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
