IMG-LOGO

काभ्रे जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा

 सोम, असार २३, २०८२  --

     धुलिखेल ÷ काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र प्रदेश खोप समन्वय समितिका सदस्य सचिव रहेका स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झाले जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

     १६ देखि २३ महिना उमेर सम्मका ४ हजार २ सय ४१ बालबालिका र १५ महिनासम्मका ४ हजार २ सय ५० बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएपछि २०८२ असार १६ गते बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले पूर्णखोप सुनिश्चितता घोषणा गर्न अनुमति प्रदान गरेको थियो । कार्यक्रममा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मानव स्वास्थ्यमा खोपको अति महत्व भएको बताउँदै देशको निमार्णका पूर्णखोप सुनिश्चितता गर्न भूमिका खेल्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । नेपालको पहिलो स्वास्थ्य शहर घोषणा भएको धुलिखेलको अनुशरण र प्रेरणा लिदैं प्रदेशका हेटौंडा उपमहानगरपालिका र चन्द्रागिरी नगरपालिकालाई स्वस्थ शहर, गोसाइकुण्ड गाउँपालिकालाई स्वास्थ्य पर्यटनको हिसाबले विकास गर्न खोजेको जानकारी दिँदै उहाँले ‘एक जिल्लामा एक नमुना स्वास्थ्य संस्था’ बनाउन प्रदेशले नीति, कार्यक्रम र बजेट छुट्टाएको स्मरण गराउनुभयो ।

     धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार श्रेष्ठले देशको निमार्णका भविष्य लागि पनि सरकारले मानिसको ज्यान जोगाउनको निरोगी बनाउनका लागि खोप लगायतका विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने भनाई राख्नुभयो । विश्वमा ३ सय ४२ खर्ब ५० अर्ब खोपमा खर्च हुने तथ्य प्रस्तुत गर्दै भन्नुभयो ः यसले आर्थिक, सामाजिक, मनोवैज्ञानिक र देशको भविष्यमा महत्वपूर्ण सकारात्मक प्रभाव रहने बताउनुभयो ।

     चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आफ्नो पालिकामा बसाईं सराइ उच्च भएकाले जनसंख्या वृद्धिदर ०.३५ प्रतिशतले घट्दै गएको बताउँदै स्वास्थ्य संस्थामा जनशक्तिका साथै अन्य पूर्वाधारहरू थपेर स्थानीयलाई सेवा दिनुपर्ने धारण राख्नुभयो । बागमती प्रदेशका स्वास्थ्य निर्देशक डा. नरेन्द्र कुमार झाले खोप कार्यक्रम मुल्यवान, लागत प्रभावकारी कार्यक्रम भएकोले खोपको खेर जाने दर घटाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, इन्दिरा खड्का बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।

     उत्कृष्ट कार्य गरेका स्वास्थ्यकर्मी सम्मानित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका निरु अधिकारीले खोप नै जीवन हो भन्दै बालबालिकाको जीवन रक्षाको लागि खोप पाए नपाएको यकिन गर्न दुई तीनपटकसम्म घरमा गएर तथ्याङ्क संकलन गरेको बताउनुभयो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले बालबालिकाको जीवन रक्षाको लागि तल्लो तहमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै पूर्ण खोप सुनिश्चितता गर्नुलाई स्थानीय तहले दायित्व र उत्सवकै रुपमा लिएको बताए । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले सबैको मेहनत र खटाइले जिल्लालाई पूर्णखोप सुनिश्चित गर्न सफलता मिलेको धारणा राख्नुभयो । कार्यक्रममा अभियान सफल गर्न भूमिका निभाउने खोपकर्तामध्ये उत्कृष्ट कार्य गरेबापत खोपकर्ताहरू दुर्गा अधिकारी, कान्छा बाँनिया, ममता श्रेष्ठ, विशाल खाइजु, मिनाकुमारी जोशी, कल्पनाकुमारी तामाङ, शुभेच्छादेवि कायस्थ, गोमा दाहाल, फुलमती तामाङ, जेनिशा थिङ, निरमाया लामा, इन्दिरा खड्का बुढाथोकी र श्रीराम कुमार रामलाई सम्मान गरिएको थियो ।

     खोप भण्डारण, व्यवस्थापन र कोल्ड चेन व्यवस्थापन गर्न भूमिका खेल्ने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय सहयोगी शेरबहादुर प्रधान र सुजन थापालाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलसहितका अतिथि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरूले पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो । कार्यक्रमको सभापतित्व जिल्ला समन्वय समिति दिपक गौतमल गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्