नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच सोमबार छलफल भएको छ । पार्टीकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्नेबारेमा केन्द्रित रहेर छलफल भएको केन्द्रीय सदस्य कोइरालाले संचारकर्मीलाई जानकारी दिईन । गुट उपगुटका कारण पार्टी कमजोर भयो, आउँदो महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको हो ।
यस्तै देशको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरूबीच नेतृत्वका लागि छलफल र भेटघाट बढेको छ । केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधि र कोइराला निवासमा भेटघाट भइसकेको छ । यस्तै सभापति शेरबहादुर देउवाले पनि आउँदो महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यसँग छलफल अगाडि बढाएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने तय भएको छ । अहिले नेपाली कांग्रेसको गाँउ देखि केन्द्र सम्म अधिवेशनको चटारो छ ।
