–डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तक्र्रिया कार्यक्रम बिहीबार धुलिखेलमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपतिले डेंगी सार्ने लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने कार्य र स्थानीय तहहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले पत्रकार तथा सरोकारवालाहरूसँग संवाद सुरु गरिएको बताउनुभयो । कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले डेंगी रोगका बारेमा कार्यपत्र प्रस्तुत गर्दै डेंगी रोग लाग्न बाट बच्न अपिल गर्नुभयो । उहाँका अनुसार डेंगी संक्रमण एडीज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । काभ्रेपलाञ्चोक जिल्लामा डेंगी संक्रमित ०८०÷८१ मा ६ हजार ७ सय ६५ जना परीक्षण गरिएकोमा २ सय ३० जनामा संक्रमण देखिएको र ०८१÷८२ मा ७ हजार ५ सय ७० जना परीक्षण गरिएकोमा ६ सय ९७ जनामा संक्रमण भएको बताईएको छ । तथ्यांक अनुसार डेंगीको प्रकोप २०१९ मा सात वटै प्रदेशका ६८ जिल्लाबाट कुल १७ हजार ९ सय ९२ केसहरू रिपोर्ट गरिएकोमा सुनसरीमा ३ हजार ४ सय ३१, चितवनमा ३ हजार ४ सय २, कास्कीमा २ हजार ८ सय २४, काठमाडौंमा १ हजार ५ सय ८९, ललितपुरमा ५ सय ९६ र झापामा ५ सय २५ जनामा प्रकोप देखिएको थियो । डेंगीबाट चितवनमा २ सुनसरीमा १, सिन्धुपालनचोकमा १, काठमाडौंमा १ र डोटीमा १ गरी ५ जिल्लाबाट ६ जनाको डेंगीबाट मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । विशेषगरी काठमाडौँ उपत्यकासहित बागमती प्रदेश उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले अन्तक्र्रियाका क्रममा बताएका छन् । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, विभिन्न नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखहरू एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
