पनौती/राष्ट्रिय दुग्ध विकास बोर्डले पनौती नगरपालिका-२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर प्रालिका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिह्न प्रदान गरेको छ । पहिलो पटक नेपालमै निजीक्षेत्रको डेरीमा यसरी लोगो पाउने सो डेरी हुन पुगेको छ ।
पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसिएसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाले आयोजना गरेको लोगो हस्तान्तरण कार्यक्रममा एसोसियसनका महासचिव प्रल्हाद दाहालको उपस्थितिमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले सेन्टरका सञ्चालक रवीन्द्र हुँमागाईलाई प्रतीक चिन्ह हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नगर प्रमुख न्यौपानेले भने ‘दुध जतिसक्यो चाँडो संकलन केन्द्र, चिस्यान केन्द्र हुँदै डेरी उद्योगसम्म पुग्नु पर्ने संवेदशनशील पदार्थ भएकाले सरकारले अत्यावश्यक सेवामा राखेको छ । दुध ढुवानी गर्ने सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा सो चिन्ह अङ्कित सवारी साधनले अब सडकमा अन्य इमर्जेन्सी सवारीझैं प्राथमिकता पाउनेछन् । जसबाट दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रहनेमा विस्वस्त रहेको बताए ।
नेपाल डेरी एसोसिएशनका महासचिव दाहालले प्रचलित कानूनअनुसार दर्ता भएको डेरीहरुले मात्रै लोगो प्राप्त गर्ने उल्लेख गरे । अबदेखि लोगो अङ्कित गाडीहरु दुध तथा दुग्ध पदार्थहरु बोकेर निषेधाज्ञा वा अन्य आपतकालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न सक्छ । बोर्डअन्तर्गतको प्रतिक चिह्न(लोगो) अनुगमन, व्यवस्थापन तथा नियमन समितिले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्वन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका आधारमा लोगो प्रदान गरेको बताए ।
कार्यक्रममा हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको लु १ क ३२३९ नम्बरको ट्यांकरमा प्रयोग गर्ने गरी जारी भएको लोगोलाई डेरी सञ्चालक रबिन्द्र हुँमागाईलाई हस्तान्तरण गरिएको हो । २०७७ चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतीक चिन्ह लोगोको सार्वजनिक गरका थिए । बोर्डको २०७८ जेठ ३० गतेको निणर्य अनुसार दुग्ध विकास संस्थानका १५ वटा र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दुई वटा सवारी साधनलाई प्रतीक चिन्ह(लोगो)उपलब्ध गराउने निणर्य भएको थियो ।
पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पनौतीका वडा नं १, २ र १२ लाई भैंसीको पाकेटक्षेत्र र वडा नं ३ लाई गाईको पाकेट क्षेत्र तोकेर भैंसी प्रवद्र्धन र गाई संरक्षणका कार्यक्रमहरु लागू भइरहेको जानकारी दिए । उनले भने ‘कृषि तथा पशुपालन क्षेत्रमा नगरपालिकाले वर्षेनी उल्लेख्य मात्रामा बजेट बिनियोजन गरेको र प्रतिफलसमेत आउन थालेको छ । दुधको गुणस्तर सुधार्नका लागि चिलिङ भ्याट र मिल्क एनालाइजर वितरण गरेको हालसम्म ८ सय ६ वटा पाडीहरु लागत सहभागितमा वितरण गरेको बताए ।
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन गुरागाईं, सचिव महेशराज पौडेल, कोषाध्यक्ष अन्जु रन्जित केसी, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका पुर्व अध्यक्ष सोमप्रसाद हुमागाईंलगायतले पनौतीलाई चिनाउने कृषि तथा पशुपालन व्यवसायलाई अझ राम्रो बनाउनका लागि सरकारी र निजीक्षेत्र मिलेर जानु पर्ने सुझाव दिएका थिए ।
