संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएपछि नयाँ संघीय संरचना अनुरुप गठन भएका ७ सय ५३ पालिकाहरुले असाढ १० गते भित्र नगरसभा सम्पन्न गरिसक्नु पर्ने संवैधानिक व्यवस्था कानुनमा छ । तर ६ सय ८१ पालिकाहरुले मात्र नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । ७२ वटा पालिकाहरुले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेका छैनन् । बागमती प्रदेशका १ सय १९ पालिकामा १ सय १४ ले सभा शुरु गरेका छन् । नीति कार्यक्रम र बजेट समय अवधि भित्र प्रस्तुत नगर्ने पालिकाहरुले पूँजीगत र कार्यालय सञ्चालन खर्च गर्न पाउने छैनन् । काभ्रे जिल्लाका १३ स्थानीय पालिकाहरुले पनि धमाधम गाउँ तथा नगरसभा शुरु गरेका छन् । २०७४ जेठ १० गते स्थानीय सरकारको निर्वाचन भएको थियो । ०७४ मा निर्वाचित स्थानीय सरकारको यो अन्तिम बजेट हो । आगामी बजेट २०७९ मा हुने स्थानीय निर्वाचनबाट नवनिर्वाचित स्थानीय सरकरले बजेट ल्याउने छ । काभ्रे जिल्लाका स्थानीय पालिकाहरुले ल्याएका बजट विवरण यहाँ प्रस्तुत गरिएको छ ।
नमोबुद्ध नगरको बजेट ६५ करोड ५९ लाख
नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दशौं नगरसभामा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगत तर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिमल्सिनाले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने, किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने, सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने, डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । यस्तै शिक्षा क्षेत्रको विकासका लागि पहिलो अक्षर क लेखौं आफ्नै सामूदायिक विद्यालयबाट कार्यक्रम सञ्चालन गर्दै सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने नीति तय भएको छ । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गर्ने, सुत्केरी हुने महिलालाई वडा कार्यालयमार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीसँग उपमेयर तथा गर्भवती महिला पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ । महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा पनि गरेको छ । आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने तिमल्सिनाले जानकारी दिए । नमोबुद्ध नगर चक्रपथ निर्माण, नमोबुद्ध वृहत खानेपानी आयोजनाको कार्यान्वयन, नमोबुद्ध बालमैत्री पार्क निर्माण, सबै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ । दशौँ नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गरेकी थिइन् । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिनुभयो ।
बनेपा नगरको विकासको प्राथमिकीकरण स्वास्थ्य र पूर्वाधार
बनेपा नगरपालिकाको ९ औँ नगर सभामा आ.व. ०७८/७८९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । नगर प्रमुख लक्ष्मी नरसिंह वादेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगर उपप्रमुख रेखा सापकोटा (दाहाल) आ.व. ०७८/०७८९ को बजेट प्रस्तुत गरिन् । नगरपालिकाको कुल बजेट १ अर्ब ५५ करोड ६९ लाख ६८ हजार रहेको छ । राजश्व बाँडफाँड ८ करोड ८६ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएको छ । संघीय सरकार वित्तिय समानीकराण १७ करोड ४० लाख, सशर्त ३० करोड ३२ लाख, विशेष १ करोड ६६ लाख समपुरक १ करोड ३१ लाख, प्रदेश सरकार तर्फ वित्तिय समानीकरण १ करोड ५१ लाख ८८ हजार, सशर्त १ करोड ८८ लाख ६६ हजार विशेष ६० लाख, समपुरक ३ करोड ५७ लाख १० हजार रहेको छ । नगरबासीमा स्वास्थ्यको गुणस्तरीय पहुँच विस्तार गर्नुको साथै कोभिड-१९ प्रकोप रोकथाम तथा नियन्त्रणका लागि पहिलो प्राथमिकता दिइएको छ । बनेपा वडा नं ४ मा १५ शैयाको अस्पताल बनाउने, नगरका सबै वडामा स्वस्थ्य चौकी निर्माण, सबै वडामा कालो पत्रे सम्पन्न गर्ने योजना रहेको छ । तोश्रो चरणमा सडक पूर्वाधार विकासलाई जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले बताए । बनेपा लायकुमा बाजेबजै पार्क निर्माण, सांस्कृतिक संग्राहलय निर्माण सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख लक्ष्मी नरसिंह वादेले बताए । त्यस्तै अर्को नगरवासीलाई एक घर एक धारा योजना लागु गरी गुणस्तरीय पिउने पानी सबै नागरिकलाई खुवाउने लक्ष्य लिएको जनाएको छ ।
पनौतीको कुल बजेट १ अर्ब ६५ करोड
नौती नगरपालिकाको नवौँ नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभा बहिष्कार गरेको नभई अनुपस्थित रहेको नगरप्रमुख भिम न्यौपानेले बताउनु भएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत न्यौपानेले ६ वडाअध्यक्ष सहित २३ जना नगरसभा सदस्यहरु दोस्रो दिनको बैठकमा मात्रै अनुपस्थित रहेको बताउनु भएको छ । यता पनौती नगरपालिकाको नवौं नगरसभामा अनुमोदन नै नगरेको बजेट पेश गरेको, वडा समितिमार्फत आफूले निणर्य गरेका योजनाहरु समावेश नगरेको, राजनीतिक रुपमा विभेद गरेको भन्दै कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेको विज्ञप्ती निकालेका थिए । पत्रकारहरुले राखेको जिज्ञासामा नरगप्रमुख न्यौपानेले स्वच्छाचारी ढंगले आफूहरुले काम नगरेको भन्दै बहिष्कार गरेको भन्ने समाचारमा सत्यता नभएको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नगरपालिकाको आ.व. ०७८/०७९ को कुल बजेट १ अर्ब ६५ करोड ६६ लाख ३५ हजार रहेको छ । आन्तरिक आयबाट ३५ करोड १० लाख ४५ हजार राजश्व बाँडफाँडबाट १७ करोड ४९ लाख ७० हजार, नेपाल सरकारको वित्तीय समिकरण अनुदानबाट १ करोड ८३ लाख २१ हजार, समपुरक अनुदान २ करोड ९८ लाख १२ हजार विशेष अनुदान ६० लाख, मौज्दात बाँकी ४५ करोड ३० लाख ३१ हजार, ऋण प्राप्ती ११ करोड७५ लाख प्रक्षेपण गरी बजेट निर्माण गरिएको छ । नवौँ नगरसभाले भुकम्प र कोरोनाका कारण नागरिकलाई अप्ठारो परेकोमा १ वर्षको विद्युत महसुल नगरपालिकाले तिरिदिने, विपन्न नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रममा सहयोग गर्ने, कोभिडका कारण निधन भएकाको परिवारलाई २५ हजार संस्कार खर्च दिने निणर्य गरेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । पनौती नगरको आ.व. ०७८/०७९ को चालु खर्च ७७ करोड ८० लाख ६१ हजार सम्म विनियोजित बजेटको ४६ दशमलब ९७ प्रतिशतले वित्तीय व्यवस्था ३० लाख, पूँजीगत खर्च पूर्वाधार तर्फ ८७ करोड ५५ लाख ७४ हजार अर्थात ५२ दशमलब ८५ प्रतिशत रहेको छ ।
पाँचखाल नगरको बजेट ८९ करोड ५६ लाख
पाँचखाल नगरपालिकाको नवौ नगरसभाबाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट प्रस्तुत भएको छ । आर्थिक बर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । सभामा नगर उपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गर्नुभयो । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।
त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५४३ रुपैया, ०७७/०७८ को दायित्व (टेण्डर) ४ करोड, ०७७/०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघिय—अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर,बिषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी बिषयगत खर्च ६५ करोड रहेको छ । चालु आ.व. मा मात्र पाँचखाल नगरपालिकाका विभिन्न वडामा ८ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भएको छ भने करीब ३० किलोमिटर भन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विधुत प्राधिकरण पाँचखाल वितरण केन्द्रको सहकार्यमा पाँचखालमा काठको पोल मुक्त नगर बनाएको छ ।
धेरै नगरपालिकामा समस्यामा रहेको फोहोर व्यवस्थापनको लागि पाँचखाल नगरपालिकाले आफ्नो समन्वयमा निजी क्षेत्रको साझेदारीमा घर घरको फोहोर संकलन गरी प्राङगारीक मल उत्पादन तथा प्रशोधन गर्ने कार्यको लागि जग्गा भाडामा लिएर फोहोर संकलन शुरु गरेको नगरपालिकाले जनाएको छ । नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकुद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकता दिइएको छ भने एक घर, एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गरिने छ ।
यस्तै पाँचखाल नगरले बाल विवाह अन्त्य गर्नका लागि पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान सञ्चालन गर्ने, जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने, नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १ जना पत्रकारलाई पुरस्कृत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैबिच नगर क्षेत्रलाई काठको पोलमुक्त बनाउन सहयोग पुर्याएको भन्दै पाँचखाल नगरपालिकाको नवौं नगरसभामा प्राधिकरणका प्रमुख ईञ्जिनियर मेघनाथ ढकाललाई सम्मान गरिएको थियो । प्राधिकरणले यो बर्षमात्रै पाँचखालमा तीन हजारभन्दा धेरै जीणर् अवस्थाका सबै पोलको स्थानमा स्टिल तथा सिमेन्टको पोल राखी काठका पोल हटाएको छ ।
मण्डन देउपुरको बजेट ९९ करोड ५९ लाख
“देउपुर र मण्डन- कृषि र पर्यटन” भन्ने नारा सहित अगाडी बढेको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहिबार बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्वरूप ९९ करोड ५९ लाख २ हजार १४२ रूपैयाँको बजेट विनियोजन गरेको छ । नगरप्रमुख टोक बहादुर वाईबाले नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा पूर्वाधार निर्माण कार्यक्रमका लागि ४ करोड ८० लाख रूपैयाँ विनियोजन गरेको छ । जसमा एउटा वडाका लागी ४० लाखका दरले बजेट बिनियोजन गरिएको छ । रणनैतिक सडक पहिचान निर्माणका लागि १ करोड, नयाँगाउँ नगरको सडक कालो पत्रेका लागि ८ करोड ३० लाख, इन्द्रावती नदी नियन्त्रको लागि ५० लाख विनियोजन गरिएको छ । खुल्ला दिशामुक्त, पुणर् साक्षर घोषणा भईसकेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई उच्च प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको हो । सडकहरू निर्माण तथा स्तरोन्नति, सडक बत्तीलाइ प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याइएको वाइबाले बताए । नगरउपप्रमुख निर्मला शाहिले आ.व. २०७७/०७८ को बजेट तथा कार्यक्रमको बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत प्रणमराज न्यौपानेले नगरको विकास र समृद्धको जग बसाल्ने कार्य अघि बढेको जानकारी दिए ।
चौरी देउरालीको बजेट ४७ करोड २६ लाख
चैँरीदेउराली गाउँपालिकाले आ.व. ०७८/०७९ को ४७ करोड २६ लाख ३१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष ताराकुमारी चौलागाईले गाउँ सभामा बजेट प्रस्तुत गरिन् । अध्यक्ष दिननाथ गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए ।
जनसंख्या भौगोलीक क्षेत्रका आधारमा निश्चित मापदण्डका आधारमा वडाले छनौट गरेको योजना प्रथमिकरणको आधारमा वडागत रुपमा बजेट विनियोजन गरेको जनाएको छ । वडा नं १, २ र ९ का लागि प्रति वडा ३५ लाखका दरले, वडा नं ४,७ र ८ वडाका लागि ४५ लाखका दरले बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारकै लगानीमा १५ शैयाको अस्पतालको नयाँ भवन बनेको छ । ४ नं. वडाको स्वास्थ्य चौकी भवन निर्माण भइ स्वास्थ्य संस्था सञ्चालन भएका छन् । गाउँपालिकाका ४ वटा अस्पतालहरु डिसि.डब्लु.सी ९म्ऋध्ऋ० समुदायिक अस्पताल चौरीदेउराली अस्पताल, धुलिखेल अस्पताल धुलिखल अस्पतालका आउट्रिट शाखा देउराली र सलम्बुले मेडिकल अफिसर सहितको दरवन्दी राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेको छ । चौरी देउराली गाउँपालिकाको अस्पतालमा १५ बेडको अस्थायि कोभिड-१९ अस्पताल सञ्चालन गरी कोभिडका विरामीहरुको उपचार गरिएको जनाएको छ । असार २० गते बजेट पास गरिने कार्यक्रम रहेको गाउँपालिका प्रेस संयोजक ग्याम्जो लामाले जानकारी दिए ।
रोशीको बजेट ६४ करोड ४३ लाख
रोशी गाउँपालिकाले आ.व.. ०७८/०७९ को लागि ६४ करोड ४३ लाख ३१ हजार बजेट गाउँसभामा पेश गरेका छ । गाउँपालिका अध्यक्ष डि.वि. लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपाध्यक्ष लक्ष्मी उप्रेति बर्तौलालो नवौँ गाउँ सभामा आ.व ०७८/०७९ को बजेट पेश गरिन । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । आन्तरिक आयबाट १ करोड २८ लाख ६० हजार, राजश्व बाँडफाँडबाट १४ करोड ८४ लाख ९७ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ८७ लाख, त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सर्शत समपुरक विशेषबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
महाभारत गाउँपालिकाको बजेट ५४ करोड ५९ लाख
महाभारत गाउँपालिकाको आ.व. ०७८/०७९ को बजेट ५४ करोड ५९ लाख ३४ हजार रहेको छ । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले नीति तथा कार्यक्रम प्रस्तुत गरे । कोभिड-१९ रोकथाम तथा नियन्त्रण,स्वास्थ्य चौकी निर्माण, पूर्वाधार विकास र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएर बजेट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझीले आ.व. ०७८/०७९ को अनुमानित बजेट प्रस्तुत गरिन् । आगामी वर्षमा आन्तरिक आय श्रोतबाट ५० लाख राजश्व संकलन गर्ने प्रक्षेपण गरिएको छ ।
खानीखोलाको बजेट ४६ करोड २८ लाख
काभ्रे जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाको नवौँ नगरसभा गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङको अध्यक्षतामा बस्यो । सभामा अध्यक्ष कृष्णबहादुर खुलालले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपाध्यक्ष रुकमणी गुरुङले ४६ करोड २८ लाख ७६ हजार ४ सय ३० को बजेट पेश गरेकी छिन् । खानीखोला गाँउपालिकाको भवन ताल ढुङ्गामा आफ्नो प्रशासकीय भवन बनाउने योजना रहेको जनाएको छ । कृषि, पशुपालन, स्वास्थ्य र शिक्षा लाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता मानवहादुर गोलेले जानकारी दिए ।
बेथानचोक गा.पाको बजेट ५२ करोड ५६ लाख
यसैगरी बेथानचोक गाउँपालिकाले ९ औँ गाउँसभा १० गते शुरु गरेको छ । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले बेथानचोक गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपाध्यक्ष सरिता लामिछानेले आ.वा. ०७८/०७९ को बार्षिक बजेट प्रस्तुत गरिन् । ५२ करोड ५६ लाखको अनुमानित बजेट प्रस्तुत गर्दा आ.व. ०७८/०७९ को आन्तरिक आय श्रोतबाट११ करोडको राजश् संकलन हुने प्रक्षेपण गरिएको छ । बजेटको प्राथमिकरण स्वास्थ्यमा १ करोड २० लाख, कृषि क्षेत्रको विकासको लागि १ करोड, शिक्षा क्षेत्रको विकासको लागि १ करोड २० लाख र पर्यटन क्षेत्रको विकासको लािग १ कारेड बजेट बाँडफाँड गरेको जनाएको छ । असार २० गते बसेको नगरसभा बेठकाले बजेट पास गर्ने कुरा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले काभ्रे टाइम्सलाई बताए ।
तेमाल गाउँपालिका बजेट ४९ करोड ६४ लाख
तेमाल गाउँपालिकाको ९ औँ गाउँसभा विहिबार गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङको अध्यक्षतामा बस्यो । अध्यक्ष सलाम सिंह तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपाध्यक्ष दुर्गा माया तामाङले आ.व. ०७८/०७९ को वार्षिक वजेट प्रस्तुत गरिन । गाउँपालिकाको कुल बजेट ४९ करोड ६४ लाख ५२ हजार रहेको छ भने कुल आन्तरिक राजश्व २ करोड ५० लाख संंकलन गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले बताए । स्वास्थ्यको पहुँच विस्तार तथा कोभिड-१९ रोकथाम तथा नियत्रण, शैक्षिक क्षेत्रमा गुणस्तर विस्तार, कृषि पर्यटन क्षेत्रको विकास र पूर्वाधार विकासका लागि बजेटको प्राथमिकता प्रदान गरिएको गाउपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिइन् । आज बस्ने गाँउपालिकाको सभाबाट बजेट पास गरिने जनाएको छ ।
भुम्लुको बजेट ५२ करोड २० लाख
भुम्लु गाउँपालिकाको ९ औँ नगरसभा उपाध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा विहिबार बैठक बसेको छ । गाउँपालिका अध्यक्ष गुमान ध्वज कुँवरले नीति कार्यक्रम प्रस्तुत गरे । पालिकाको बजेट आ.व. ०७८/०७९ को कुल बजेट ५२ करोड २० लाख रहेको छ ।
उपाध्यक्ष कल्पना श्रेष्ठले आ.व.०७८/०७९ को अनुमति बजेट सभामा प्रस्तुत गरिन् । पालिकाको आन्तरिक राजश्व १३ करोड प्रक्षेपण गरिएको छ । स्वास्थ्य, कोभिड-१९ प्रकोप रोकथाम तथा नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवाहरुलाई रोजगारीको श्रृजना, पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, महिलाहरुको आर्थिक शसक्तिकरणलाई बजेटमा प्राथमिकीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले बताए । आगामी असार २५ र २६ गते गाँउ पालिकाको सभाबाट बजेट पास गरिने गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् ।
