धुलिखेल नगरपालिकाले जथाभावी, अनियन्त्रित तथा अब्यवस्थित रुपमा अनुमति नलिई जग्गाको खण्डीकरण तथा प्लटिङ्ग नगर्न अनुरोध गरेको छ । यस अघि त्यसरी प्लटिङ्ग भईसकेका स्थानको हकमा २०८२ जेठ १५ गते भित्र अनिवार्य रुपमा नगरपालिकाबाट अनुमति लिन नगरपालिकाले आब्हान गरेको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २७ (२) अनुसार नगरपालिकाको पुर्व स्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ्ग गरेका ब्यक्ति वा संस्थाले २०८२ जेठ १५ गते भित्र अनिवार्य रुपमा नगरपालिकाबाट अनुमति लिन आब्हान गर्ने निर्णय गरेको छ ।
उक्त मिति भित्र जग्गाको खण्डीकरण वा प्लटिङ्ग गरेका संस्था वा ब्यक्तिले नगरपालिकाको अनुमति नलिएमा त्यस्ता जग्गाको कित्ताकाट, घरबाटो सिफारिश लगायत जग्गा सम्वन्धी सबै कामकारवाही रोक्ने निर्णय गरेको छ । कार्यपालिकाको उक्त निर्णय विपरित कुनै वडाले सिफारिस गरेको पाईएमा त्यस्ता वडा कार्यालयलाई जाने अनुदान रोक्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । पछिल्लो समय नगरपालिकाको अनुमति विना विभिन्न वडामा अब्यस्थित जग्गाको खण्डीकरण गरिएको पाइएको छ । अन्धाधुन्ध जग्गा खण्डीकरण गरेका कारण सोहि कारण गत असोज १०–१२ मा भएको अविरल वर्षातमा धेरै क्षति पुगेको थियो ।
यस अघि पनि नगरपालिकाले पटक पटक जग्गा खण्डीकरण वा प्लटिङका लागि अनुमति लिन आब्हान गरेको भए पनि ब्यवसायीहरुले मानेका थिएनन् । पछिल्लो निर्णयले जग्गा ब्यवसायीहरुले अनिवार्य अनुमति लिनु पर्ने अर्थात अनुमति नलिएकाहरुले पनि तोकिएको समय भित्र अनुमति लिई सक्नु पर्ने बाध्यता भएको छ ।
