श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रम्होत्सव २०८२ बैशाख ७ गते देखि ९ गतेसम्म पनौति–५ मा रहेको मुक्तिनाथ मन्दिर परिसरमा हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्रीमुक्तिनाथ मन्दिर संरक्षण समिति पनौतिका अध्यक्ष कुमार थापाले श्रीदेवी ,भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रम्होत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएकोले धार्मिक अनुष्ठानको लागि उपस्थित हुनुहुन सम्पूर्ण धर्मानुरागी हरुलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार बैशाख ७ गते गरिने पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राहणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण गरिनेछ । बैशाख ८ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजा सहित नगरभित्र यात्रोत्सव गरिनेछ । त्यसैगरी बैशाख ९ गते महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुनेछ । कार्यक्रममा पनौती वडा न. ५ का अध्यक्ष बिनोद खत्रीले ऐतिहासिक धामको बिकास र बिस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले धर्म संस्कृति जगेर्ना गर्ने र हिन्दु परम्परा जोगाउन गरिन लागेको तृतीय ब्रम्होत्सवको प्रशंसा गर्नुभयो । संस्थापक अध्यक्ष स्व.गोपालबहादुर थापाको परिकल्पना अनुसार स्थापना भएको उक्त मन्दिरको शिलान्यास स्वामी कमलनयानाचार्यले गर्नुभएको थियो । पछिल्लो समय यो मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ ।
