सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको पनि ठेक्का लागेको छ। आयोजनाले २०७९ कात्र्तिकमा यस खण्डको सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । सवारी चाप अत्यधिक रहने सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजना अनुसार नै सडक निर्माण प्रक्रिया अघि बढ्ने छ । यस खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा लाग्ने भएको छ। यसका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले ठेक्का पाएको हो । यस ठेक्कामा ३ वटा जेभीसहितका निर्माण कम्पनीहरु प्राविधिक रुपमा पास भएका थिए । जसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभी, स्वछन्द, एपेक्स, शक्ति जेभी र कालिका कन्स्ट्रक्स आर्थिक प्रस्ताव पेस गर्न सक्षम भएका थिए । यसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले सबैभन्दा कम कबोल गरेकाले ठेक्का पाएको हो । यस आयोजनाको पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्का लागिसकेको छ । यसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो । अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ ।
प्रतिवेदन अनुसार सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । त्यही अनुसार आयोजनाले ठेक्का आह्वान गरेको थियो। अब उक्त खण्डको ठेक्का पाउने निर्माण व्यवसायीले छिट्टै सम्झौता गर्ने आयोजनाले जनाएको छ । यसमा ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ । यस्तै पुल निर्माणको लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत अनुमान गरिएको छ । प्रतिवेदन अनुसार यस आयोजनामा २०÷२० मिटरको तीनवटा पुल पुन्नेमा, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिनेछ । यसको लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । उक्त डीपीआर अनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ । यसमा सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ ।
यसमा ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ । गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। साथै बीचमा ३ मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइनमा छ । काठमाडौंबाट जाने लेन नयाँ वाल लगाएर बनाइने छ भने आउने सडकको लेन पहिलेकै रूपमा रहने छ। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको लागि लगभग एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरेको छ । बिपी राजमार्ग हुँदै चल्ने बसहरु काठमाडौं–तराई मार्ग हुँदै जान्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा आवतजावतका लागि प्रयोग हुन्छ । उक्त सडकमा सवारीको चाप छ ।विस्तार गर्ने योजना बनेको भए पनि वर्षौदेखि काम हुन सकेको छैन । तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा बसेको सडक विभागको बैठकले हालको सडकलाई स्तरोन्नति गरेर चार लेनको बनाउदा उपयुक्त हुने निष्कर्ष निकालेपछि प्रक्रिया अघि बढेको सडक विभागले जनाएको छ ।
