राजनीतिको कोभिडले देशलाई बर्बाद गरेको बेला के साँच्चै कोरोनाको तेस्रो लहर आउँछ ? भनेर प्रश्न गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालमा कोभिडको पहिलो लहरमा धेरै सङ्क्रमितमा लक्षण नदेखिएको र देखिने धेरैमा समेत मध्यम खाले पाइएको बताउँछन् ।तर दोस्रो लहरमा लक्षणहरू कडा र धेरैजस्ता अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थामा पुग्नुले आफूहरूलाई तेस्रो लहरका लागि सजग गराएको उनीहरूको भनाई छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आफ्नो तयारीलाई तेस्रो लहर आउने निश्चित अवस्थाको रूपमा नबुझ्न सबैलाई आग्रह गरेको छ । दोश्रो लहरको अवस्था धेरै नियन्त्रणमा आइसकेको मन्त्रालयले दावी गरेता पनि देशका विभिन्न भागमा संक्रमित र मृत्यु रोकिएको छैन । पुनः नयाँ लहर सुरुहुने चिन्ताले सबैमा त्रास छ । तेश्रो लहरले बालबालिकाहरूलाई सुरक्षित राख्न नसकिने विदेशको दृष्टान्त हाम्रो सामू छ ।
यसै बीच कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयु निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयु व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने । ती ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुने जानकारी दिँदै मन्त्री तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।
खोप र स्वास्थ्य मापदण्डको पालनाको विषय अझै ठूलो प्राथमिकतामा राखेर बालबालिकालाई जोगाउने कामलाई प्राथमिकता दिनुपर्ने उनीहरू बताउँछन् ।“भाइरसको उत्परिवर्तनहरू भइरहेका छन् र नयाँ नयाँ भेरिअन्ट देखिन थालेका छन् । जसविरुद्ध खोपकै प्रभावकारिताको दर घटिरहेको भनिएको छ,“ डा मदनकुमार उपाध्याय भन्छन्। “उमेर समूहकै हिसाबले समेत पहिलो लहरमा वृद्धवृद्धा र दीर्घरोधी धेरै प्रभावित भएकामा यस पटक युवाहरूमा गम्भीर असरहरू धेरै देखियो । अब झन् बालबालिकालाई खोप लगाउने तत्कालको तयारी पनि छैन। त्यसैले हामीले तयारी थाल्नुको विकल्प छैन ।”
