नेकपा पार्टी फुट्न पनि नसक्ने मिल्न पनि नसक्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अझै फुटाउ र हाइ सञ्चोले राज गरौंला भन्ने नीति लिएर हरेक भेटमा प्रचण्डलाई बिरालोले मुसो खेलाए झैं खेलाइ रहेका छन् । प्रचण्ड हरेकपल्ट प्रधानमन्त्री निवास बालुवाटार जान्छन् बिना निष्कर्ष खुमलटार फर्कन्छन । यो दैनिकीको समाचार सुन्दा, हेर्दा, पढ्दा नेपाली जनता वाक्क दिक्क भएका छन् । प्रम ओली प्रचण्डलाइ झस्काउन कहिले माधवकुमार नेपाललाई बालुवाटार बोलाउछन् त कहिले आफै वामदेव गौतमलाई भेट्न भैसेपाटी पुग्छन् । आइतबार यस्तै घटना भो बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपाललाई आफुलाई भेट्न बालुवाटार आमन्त्रण गरेका ओलीले नेता नेपाल आफ्ना सहकर्मी भिम रावल सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथै लिएर बालुवाटार पुगे पछि दोस्रो पल्ट आफ्नो दुई मृगौला फेरेपछि सेता जुँघा काला भएको अहिले हाँच्छियुु पनि नआएको कुरा गरे । साथै प्रधानमन्त्री केपी ओलीले नेपाललाई नेकपाको अध्यक्ष बन्न गरेको उधारो प्रस्ताव राख्न भ्याए । नेता माधव नेपालले त्यस प्रस्तावलाई ठाडै अस्वीकार गर्दै
‘ऐना हेरेर विगत रअहिलेको अनुहार तुलना गर्न ओलीलाई ’ सुझाव दिए ।
प्रधानमन्त्री ओली वचनमा पक्का नभएको भन्दै उनले सो आश्वासन अस्वीकार गरेका कुरा त्यही दिन मिडियामा समाचार आए ।
आइतबार दिउसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्त सहितको भेटघाटमा ओलीले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउने र आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए । तर नेपालले यस्ता फोस्रा आश्वासन दिएर नअल्मल्याउन आग्रह गर्दै अहिलेको समस्यालाई सामाधान गरेर लैजान ठोस कार्ययोजना मागेका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह बीच आइतबार छलफल हुँदा ओलीले नेपाललाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए । नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले सचिवालयको बैठक बोलाउन माग गरेकै भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले नेपाल समूहका प्रभावशाली नेताहरुलाई पनि साथमा राखेर यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण मानिएको छ । छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपालसहितका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरू बीच नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल हुँदा विवाद समाधान गर्न ओलीले नेपाल समूहलाई मनाउने प्रयासस्वरुप पार्टी अध्यक्ष बनाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतासँग पार्टीलाई बचाएर लैजानु पर्ने भन्दै हारगुहार गर्दै त्यसका लागि आफूले जे जस्तो अवस्था आइपरेपनि व्यहोर्ने भन्दै फकाउने प्रयास गरेका थिए । पार्टी फूटको संघारमा पुगेकाले यसलाई बचाएर लैजानु परेको उनले बताए । करिब ३ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफू एकताको पक्षमा रहेको दोहो¥याएका थिए ।
नेपाल लगायतका नेताहरुले प्रधानमन्त्रीको हैसियतमा बढी जिम्मेवारी भएकाले लचिलो भएर पार्टी कमिटीको बैठक राख्न आग्रह गरेको स्रोतको दावी छ ।
अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो । सचिवालयका पाँचजना नेताले दुईदिन भित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर पार्टी एकता जोगाउन गुहारेका हुन् । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष तपाई नै भएकाले यसको समाधान पनि तपाईले नै गर्नुपर्छ भनेका थिए । ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्री तपाई नै हो त्यसकारण बढी जिम्मेवारी तपाईको छ, यसमा हामी दोषी छैनौ’, नेता नेपालले भनेका थिए ।
प्रधानमन्त्री ओलीले निकैबेर गुनासो गरेपछि नेपालले सबै समस्याको जड तपाई आफूले नै बोक्नु भएको छ यसलाई खुलाउनुस पार्टी कमिटीको बैठक डाकेर बैठकमा सबैका कुरा सुनेर समस्या सुल्झाउनुस भन्दै नेपालले तत्कालै सचिवालय बैठक राख्न आग्रह गरेका थिए । बैठकमा नेता नेपालले मदन भण्डारी फाउन्डेसनका नाममा पार्टी गतिविधि संचालन नगर्न भनेका थिए । यदि त्यसो गरिए आफुहरुले पनि पुष्पलाल मिलन केन्द्र अघि सार्ने भनेर बताएको कुरा बाहिर आएका छन् । अहिले नेकपा गम्भीर मोडमा छ । नेताकार्यकर्तामा तलसम्म फुट मौलाएको छ । नेता नेताको बोलचाल बन्द मात्र होईन पानी बाराबारको अवस्थामा पुगेको छ ।
