भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री वालेन्द्र शाह बालेन सोमबार स्वदेश फर्किएका छन् । उनी सोमबार दिउँसो भारतमा रहदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवन परिसरमा स्वागत गरेर दिपक्षीय वार्ता गरेका थिए । मोदीले स्वागत गर्ने क्रममा प्रधानमन्त्री बालेनलाई अँगालो मारेका थिए ।
आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा रहेका शाह र मोदी रातो कार्पेटमा सँगै हिँडेका थिए । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले नेपालका शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । दुवै देशका राष्ट्रिय गान बजाइएको थियो । राजकीय भ्रमणका बेला यसरी स्वागत गर्ने अभ्यास विगतदेखि रहँदै आएको छ । प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्प अर्पण गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीसँग वार्ताका लागि प्रधानमन्त्री शाह हैदरावाद हाउसमा पुगेका थिए । दुई प्रधानमन्त्रीबीचको वार्ता अर्थपूर्ण भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीको हैदराबाद हाउसमा आज झन्डै डेढ घण्टा एक्ला एक्लै वार्ता भयो । वार्ता सकेर दुवै देशले ८ बुँदे एमओयू अर्थात् समझदारीपत्र साटासाट गरे । ६ वटा आयोजना उद्घाटन र शिलान्यास गरे । अनि २४ बुँदे संयुक्त विज्ञप्ति जारी गरे ।
ती ८ एमओयू र ६ आयोजना के के हुन् ? २४ बँदे संयुक्त विज्ञप्तिमा के के परे ? खासमा यो नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त विज्ञप्ति जारी भएकै यो सन् २०१८ मा केपी शर्मा ओली भारत गएको समयपछि पहिलोपटक जारी भएको हो । नेपालले निकै लामो समयदेखि उठाउँदै आएको हवाई रुटको विषय संयुक्त विज्ञप्तिमा परेको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने विषयमा पनि दुई पक्षबीच संवाद भएको छ । तर कसरी ?
८ मध्ये पहिलो बुँदा हो– भारतको गुजरातको गान्धीनगरमा रहेको नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धानका लागि सहकार्य गर्ने । दोस्रो बुँदा हो– भारतको राष्ट्रिय रक्षा युनिभर्सिटी र नेपालको नेसनल पुलिस एकेडेमीबीच सहकार्य गर्ने । तेस्रो हो– नेपालका निजामती कर्मचारीहरूको क्षमता वृद्धि । यसका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, डिपार्टमेन्ट अफ एडमिनिस्ट्रेटिभ रिफम्र्स एन्ड पब्लिक ग्रिभान्सेज र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच एमओयू आदानप्रदान भएको छ । यस्तै आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा पनि सहकार्य गर्ने गरी दुई सरकारबीच समझदारी भएको छ ।
एमओयूको पाँचौँ बुँदा हो– साउथ एसिया स्याटेलाइट उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन नेटवर्क जसलाई छोटकरीमा स्याटकम भनिन्छ, यसको स्थापना गर्ने । यसका लागि भारतको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र आदानप्रदान भएको छ । छैटौँ बुँदामा दिगो सहरी विकासका लागि पनि भारत र नेपालबीच प्राविधिक सहकार्य गर्ने समझदारी भएको उल्लेख छ । यस्तै भारत र नेपालको स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी पनि दुई देशका प्रधानमन्त्रीको सामुन्ने भयो । र एमओयूको आठौँ अनि अन्तिम बुँदा रह्यो– पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने । अब कुरा गरौँ ६ वटा आयोजनाको, जुन उद्घाटन, शिलान्यास अथवा हस्तान्तरण भए । पहिलो हो– अयोध्यादेखि जनकपुरसम्मको रेलको सुरुआत । दुई प्रधानमन्त्रीले झन्डा हल्लाएर संयुक्त रूपमा सरायु–कमला एक्सप्रेस रेलसेवा आज उद्घाटन गरे ।
दोस्रो आयोजना हो– बनबासामा एकीकृत जाँच पोस्टको शिलान्यास । बनबासा भनेको महाकाली नदीपारिको नाका बजार हो । यस्तै भैरहवा, सुनौली र दोधारा चाँदनीमा बनिरहेका जाँच पोस्टमा प्रगति भइरहेको पनि जानकारी गराइयो । तेस्रो आयोजना भारतको धारचुला र नेपालको दार्चुलाबीचको क्रस बोर्डर मोटरेबल पुल हो । यो पुलको उद्घाटन गरियो । चौथो भनेको ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास हो । पाँचौँ हो मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको हस्तान्तरण । र छैटौँ तथा अन्तिम हो– प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास । प्रधानमन्त्री वालेन्द्र र मोदी दुवैले एकसाथ बटम थिचेर आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका थिए । संयुक्त प्रेस ब्रिफिङ र संयुक्त प्रेस विज्ञप्तिमा के के छ ?
भारतले नेपाललाई २४ हजार करोड दिने मोदीले घोषणा गरेका छन् । हामीले बुझ्ने भाषामा यो भनेको २ खर्ब ४० अर्ब हो । संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान सहायता हो । यो रकम विपद्पछिको पुननिर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च हुनेछ । बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँचाहिँ ऋण सहायता हो । यो पैसा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि उपलब्ध गराइनेछ । संयुक्त विज्ञप्तिमा आएको अर्को महत्त्वपूर्ण कुरा हो– हवाई रूटको । दुवै पक्ष काठमाडौं–भैरहवा–लखनऊ रूटलाई दुईतर्फी बनाउन सहमत भएका छन् । तर यो तत्कालै पाइने रूट भने होइन । यसका लागि आवश्यक प्रक्रिया टुंग्याउन प्राविधिक परामर्श गर्ने भनिएको छ ।
तर बुझ्नुपर्ने कुरा के छ भने, भैरहवा एन्ट्री रूटमा भारतको पहिल्यैदेखि एक प्रकारको असहमति छ । गोरखपुर एअर बेसमा फाइटर जेटहरू नियमित उड्ने भएकाले भारतले सुरक्षाको चिन्ता देखाउँदै आएको छ । अर्को कुरा सन् २०१६ मै नेपाल र भारत महेन्द्रनगरको रूटलाई दुईतर्फी बनाउन सहमत भएका थिए । तर भारतले अन्तिम निर्णय गर्नुअघि आन्तरिक परामर्श आवश्यक भएको भनेपछि यो रूटको कुरा त्यतिकै सेलाएको थियो । यसपटक पनि प्राविधिक परामर्शको शब्दावली राखिएको छ । त्यसैले यसमा अझै शंका कायम छ । विज्ञप्तिमा भनिएअनुसार रक्सौल–काठमाडौं प्रस्तावित विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सकिएको छ । र पूर्व–पश्चिम रेलमार्ग विकास गर्न दुवै देशले सहकार्य गर्ने घोषणा गरेका छन् । सीमा स्तम्भ मर्मत र पुनःस्थापनामा प्रगति भइरहेको र बाँकी रहेका सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवहरूलाई काम अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी भ्रमणको अर्को महत्त्वपूर्ण पाटोको विषय ः पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिन र परियोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितालाई दुवै नेताले निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ । यस्तै सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर पनि छिटो गरिसक्न दुवै नेता सहमत भए । संयुक्त प्रेस ब्रिफिङमा प्रधानमन्त्री वालेन्द्रसँगै उभिएर मोदीले लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध र शिवशक्तिसँग जोडिएका स्थलहरूबीच कनेक्टिभिटी बढाउन मिलेर काम गर्ने भने । साथै बिहार, उत्तरप्रदेश र भारतका अन्य राज्य र नेपालबीच रोड, रेल र बोर्डर कनेक्टिभिटीका प्रोजेक्टहरूलाई नयाँ गति दिने उनले भने ।
नेपालको वैदेशिक व्यापारलाई थप सजिलो बनाउन कान्डला र पारादिप बन्दरगाहमा पहुँच दिने मोदीको घोषणा रह्यो । उनले अरूण तेस्रो जलविद्युत् आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धता पनि गरे । मोदीले नेपाली युवाहरूको सपना साकार गर्न नेपालमा स्टार्टअप, इन्क्युबेटर, इनोभेसन हब अनि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एउटा अफशोर क्याम्पस स्थापना गर्ने भने । कानुन र प्रविधिको अध्ययन गर्ने नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्ति कोटा पनि बढाउने उनले उद्घोष गरे । उनले नेपालमा एग्रो इन्डस्ट्रियल पार्क बनाउन पनि सहयोग गर्ने भने । क्रिकेटमा पूर्वाधार विकास र खेलाडीको तालिममा सहयोग बढाउने भने । तर यति धेरै समझदारी, सहकार्य र सहायताको कुरा हुँदाहुँदै पनि केही महत्त्वपूर्ण मुद्दा पनि ओझेलमै प¥यो ।
यस्तै नेपालले औधी खोजेको काठमाडौं–महेन्द्रनगर हुँदै दिल्ली जोड्ने हवाई रूटमा प्रधानमन्त्री तहमा आज कुरै भएन । भैरहवा रुटलाई दुईतर्फी बनाउन दुई पक्ष सहमतसम्म भएका हुन्, त्यसमा प्राविधिक अध्ययनको पाटो बाँकी नै छ । अर्कोतर्फ महेन्द्रनगरको रूटमा विमानले २ सय ९१ नटिकल माइल नेपाली आकाश प्रयोग गर्नुपर्ने हुँदा नेपालले बढी आम्दानी गर्न सक्थ्यो । तर भैरहवाको रूटमा १ सय नटिकल माइल मात्र नेपाली आकाश प्रयोग हुन्छ । यस्तै दुई देशबीच इतिहासदेखि रहेका समस्या र तिनका कारण पहिल्याउन तथा समाधानका विषय सिफारिस गर्न बनेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदनबारे पनि कुरै भएन । २०७५ सालमा प्रतिवेदन तयार भएयता प्रत्येकचोटि प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषय सतहमा आउने गरे पनि छलफल नै नहुने स्थिति थियो । यसपालि पनि त्यस्तै भयो ।
सीमा सम्बन्धी समस्यामा किन बोलेनन बालेन ?
तर नेपाल र भारतका दुवै प्रधानमन्त्रीले उल्लेख गरेको तथा दुवै देशका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भिजन पेपरमा भने १९५० को नेपाल–भारत मैत्री सन्धि दुवै देशको आपसी समझदारीमा पुनरावलोकन गर्न सकिने उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको अन्त्यतिर दुई देशको साझा भविष्यलाई नयाँ दिशा दिन जोइन्ट भिजन डक्युमेन्ट जारी गरेको भने । उनले यसलाई विकसित भारत र समुन्नत नेपालको सपना साकार गर्ने ब्ल्युप्रिन्टको संज्ञा दिए । बालेन शाह काठमाण्डौं महानगरको नगरप्रमुख हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । आफू प्रधानमन्त्री भइ भारत भ्रमणमा जाँदा सिमाको बारेमा चुक्क सम्म पनि बोलेनन् । केपी ओलीको नेतृत्वको सरकारले लिपुलेक, कालापानी सूस्ता समेत समेटेर चुच्चे नक्सा जारी गरेको थियो । प्रधानमन्त्री बालेनले भारत भ्रमणमा भारतीय प्रम नरेन्द्र मोदीसँगको भेटमा सिमाको समस्याको बारेमा प्रम बालेनले उच्चारण नै नगर्न, नेपाली जनता माथिको ठूलो घात हो । नौटङ्गी हो भनेर सर्वत्र रुपमा विरोध जनाएका छन् । अझ विना सुजबुझ प्रम बालेनले प्रम भए लगत्तै संसदको रोष्टममा उभिएर भारतले मात्र नेपालको सिमा मिचेको हैन, नेपालले पनि भारतको सिमा मिचेको भनेर राष्ट्रको शिर झुकाउने काम गरेका थिए ।
