नेपालमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएर भयावहको स्थिति आएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ । मृत्यु हुनेहरूको सङ्ख्या पनि २ सय माथि पुगेको छ । शुरुका दिन कोरोना संक्रमण नहुँदा सरकारले लकडाउन गरेर नागरिकलाई घर भित्र थुनेर राखेको थियो । कोरोना संक्रमणले महामारी रुप लिँदा जहाँ पनि फुक्काफाल छोडेर डरलाग्दो स्थितिमा पुग्ने चिन्ता सर्बत्र छ । अहिले काठमाण्डूका हकमा धेरै चुनौती सामना गर्नुपरेको छ । आइसोलेशन वार्डहरू भरिँदै गएका छन् । अस्पतालका आइसियु र भेन्टिलेटरमा कोरोना संक्रमित बिरामीको चाप छ । अवस्था एक पछि अर्कोे गम्भीर हुने संकेत देखा पर्दैछन् । सरकार कोरोना नियन्त्रण गर्न नसकेर पुरै असफल भएको छ । महामारीको समाधान लकडाउन वा निषेधाज्ञा होइन तर यो तरिकाको उपयोग सरकारले पहिला गर्न नसकेको परिणाम अहिले देखिएको अवस्था हो ।
सम्बन्धित अधिकारीहरूले अब राष्ट्रव्यापी रूपमा लकडाउन नहुने बताएता पनि सम्बन्धित पक्षले विकल्पको अर्को मार्ग देखाउन सकेका छैनन् । दशंै तिहार जस्ता चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अब कोरोना काठमाडौंबाट सुरु भएर गाउँ गाउँमा फैलने खतरा छ । बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा हामी आफै सचेत र सतर्क हुनुपर्छ । सरकार जिम्मेवार छैन सम्बन्धित निकायहरू कोरोना नियन्त्रण गर्न नसकेर कुहिरोको काग जस्तै बनेका छन् ।
लकडाउन जस्तो संवेदनशील विषयमा निर्णय गर्न सरकार चुकेको छ । सबै नागरिक आफै जागरूक हुन जरुरी भएको छ । सङ्क्रमणको दर बढ्ने क्रम तीव्र रहेको अवस्थामा सर्वसाधारणहरू आफै सचेत नभए अहिले एक लाख भन्दा बढी भएको संक्रमण एक महिना भित्र १० लाख नपुग्ला भन्न सकिन्न । जनस्वास्थ्यका मापदण्ड पालना गरेर अघि बढ्नुपर्छ सरकारले हाम्रा लागि केही गरिदेला भन्ने कुनै आशा छैन ।जन–स्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन डरलाग्दो”अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जन–स्वास्थ्यका लागि “सुखद सङ्केत नभएको”उनीहरू बताउँछन्। गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ ।
कोभिड–१९ रोग गराउने कोरोना भाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ । त्यसैले हामी सबै सचेत र सतर्क हुन आवश्यक छ ।
