नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हिजोबाट प्रारम्भ भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । सचिवालय बैठकले हिजो सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठकमा आइतबार कार्यदलले पेस गरेको एकीकृत प्रतिवेदनमाथि छलफल हुनेछ भने केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गर्ने छ ।
गत २१ फागुनको निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । एमालेका केपी शर्मा ओली नेतृत्वबाट अब पार्टी अघि नबढ्ने भन्दै नेताहरूले प्रश्न उठाएपछि पार्टीले नै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाएकको थियो । उक्त कार्यदलको तर्फबाट देशव्यापी सुझाव संकलन गरिएको थियो । उक्त सुझावका आधारमा महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा नेतृत्व फेर्नेसम्मको आसय आएपछि संयोजक थापाले पनि छुट्टै प्रतिवेदन बनाएका थिए । थापाले ओलीको रक्षा गरेर जानुपर्ने धारणा सहितको प्रतिवेदन ल्याएका थिए । दुईथरी प्रतिवेदन आएपछि त्यसमा पनि विवाद भएको थियो । महासचिवको प्रतिवेदनमा चित्त नबुझाएका ओलीले बादलसहितको प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने अनौपचारिक जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिएका थिए ।
ज्ञवालीले २९ पृष्ठ लामो प्रतिवेदन बनाएका थिए । त्यहाँ उनले ओलीलाई नेतृत्वबाट हटाउनेसम्बन्धी कुनै पनि प्रसंग राखेका थिएनन् । तलबाट आएका सुझावहरू सबै अनुसूचीमा राख्ने डकुमेन्ट तयार गरेका थिए । तीन वटै डकुमेन्टहरूमा आधारित रहेर आइतबार दिउँसो कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिई सचिवालय बैठकमा पेस गरेको थियो ।
केन्द्रीय सदस्यलाई ओलीको निर्देशन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आदेश र अनुमति विना नबोल्न र ठाउँ नछोड्न निर्देशन दिएका छन् ।
यस्ता छन् बैठकका एजेण्डा :
१. अध्यक्षको प्रतिवेदन प्रतिवेदन, २. केन्द्रीय कमिटीमा मनोनयन, ३. विभागहरू गठन, ४. पोलिटब्यूरो गठन, ५. स्थायी समिति गठन, ६. सल्लाहकार परिषद् गठन, ७. जेष्ठ कम्युनिस्ट मञ्च गठन, ८. अनुसासन आयोग गठन र ९. समसामयिक प्रस्ताव रहेका छन् ।
पार्टी अध्यक्ष ओलीलाई ईश्वरको पत्र
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमाले नेता ईश्वर पोखरेलले पत्र लेखेका छन् :
तपाईं के सोचिरहनु भएको छ कुन्नि ! हामी अझै भूईमा पछारिँदै छौं । कमरेड, विगतमा जे भो, भो ! यतिबेला तपाईंको सम्मान साथ बिदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानुभन्दा अर्को आशा जगाउने विकल्प छैन र हुनै सक्दैन !, यो पत्रमा मैले जे देखें, बुझें र आन्दोलनमा निरन्तर लाग्दा जे–जे भोगें र जे अनुभव गरें – त्यस आधारमा, मेरो विश्वास र मान्यताका आधारमा लेखेको हुँ। अहिले मैले झेल्दै गरेको पारिवारिक समस्याका बारेमा थप केही भन्न चाहिनँ ! पार्टीमा लागेर पनि जीवनलाई एक्लाएक्लै बुझ्नुपर्दैछ !
