IMG-LOGO

एउटै नामका दुई कांग्रेस, गगन कांग्रेस र शशांक कांग्रेस : फुटेको हो कि फुट्न बाँकी ?

 मंगल, भदौ २, २०८३  टाइम्स रिपोर्टर

    नेपाली कांग्रेसभित्र लामो समयदेखि सतह मुनि चल्दै आएको शक्ति संघर्ष अब खुला राजनीतिक ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ । काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई इतर समूहको नेतृत्वमा अघि सारेसँगै कांग्रेसभित्र औपचारिक विभाजनको घोषणा नभए पनि व्यवहारतः दुई शक्ति केन्द्रसहितको कांग्रेस निर्माण भएको संकेत देखिएको छ ।
    एकातिर सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष छ भने अर्कोतिर डा. शशांक कोइरालाको नेतृत्वमा संगठित हुँदै गएको इतर समूह । यहीबीच पार्टीभित्र अर्को प्रभावशाली धारका रूपमा गगन थापाको राजनीतिक उपस्थिति पनि निर्णायक बन्दै गएको छ ।
    परिणामतः नेपाली कांग्रेसको आन्तरिक संघर्ष अब केवल व्यक्तित्वको टकराव नभई कुन धारले पार्टीको भविष्य निर्धारण गर्ने भन्ने प्रश्नमा परिणत भएको छ । राष्ट्रिय सम्मेलनबाट पारित पाँचबुँदे प्रस्तावले यो ध्रुवीकरणलाई अझ संस्थागत स्वरूप दिएको छ । प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसअघिका आवश्यक नियमित पार्टी गतिविधि सभापति देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै जाने उल्लेख गरिएको छ । यस निर्णयसँगै सम्मेलनका संयोजक डा. शशांक कोइरालाले १५औँ महाधिवेशनसम्म पार्टीका महत्वपूर्ण गतिविधिमा समन्वय गर्ने राजनीतिक जिम्मेवारी पाएका छन् । यसअघि कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्काले इतर समूहलाई समेट्दै आएका थिए ।
नाम एउटै, शक्ति केन्द्र दुई
    कांग्रेसको अहिलेको संकटलाई सामान्य गुटबन्दीका रूपमा मात्रै हेर्न नसकिने अवस्था बनेको छ । किनकि प्रश्न अब ‘कुन नेताको गुट बलियो ?’ भन्नेमा सीमित छैन । प्रश्न कांग्रेसको आधिकारिक राजनीतिक दिशा कसले तय गर्ने ? भन्ने ठाउँमा पुगेको छ । सभापति देउवाको संस्थापन पक्षले पार्टीको वैधानिक संरचना, केन्द्रीय कार्यसमिति र महाधिवेशनको संस्थागत निरन्तरतालाई आफ्नो आधार बनाइरहेको छ । अर्कोतर्फ इतर समूहले पार्टीभित्रको असन्तुष्टिलाई संगठित गर्दै आगामी महाधिवेशनमा वैकल्पिक नेतृत्व निर्माण गर्ने प्रयास गरिरहेको छ ।
    यसरी हेर्दा कांग्रेसको संगठन एउटै भए पनि निर्णयको राजनीति दुईतिर फर्किएको देखिन्छ । यही अवस्थाले कांग्रेसभित्र एउटा गम्भीर प्रश्न जन्माएको छ—अब कांग्रेस एउटै पार्टी हो कि एउटै झण्डामुनि उभिएका दुई राजनीतिक शक्ति केन्द्र ?
गगन र शशांक ः एउटै कांग्रेसभित्र दुई ध्रुव
    कांग्रेसको पछिल्लो राजनीतिमा गगन थापाको नामलाई अलग गरेर हेर्न सकिँदैन । नयाँ पुस्ताको नेतृत्व, संगठनात्मक पुनर्संरचना र पार्टीलाई परम्परागत नेतृत्वबाट बाहिर निकाल्ने बहसमा थापाले आफ्नो छुट्टै राजनीतिक आधार निर्माण गरेका छन् । अर्कोतर्फ शशांक कोइरालाको राजनीतिक पहिचान नेपाली कांग्रेसको पुरानो कोइराला विरासतसँग जोडिएको छ । उनको पछिल्लो भूमिकाले इतर समूहलाई एउटा वैकल्पिक राजनीतिक छाता दिने प्रयास गरेको देखिन्छ ।
    यसले कांग्रेसभित्र ‘गगन धार’ र ‘शशांक धार’ बीचको सम्भावित प्रतिस्पर्धालाई पनि थप रोचक बनाएको छ । तर यहाँ एउटा विरोधाभास पनि छ । शशांक नेतृत्वको इतर समूहले सम्मेलनबाट सभापति देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैले यसलाई तत्कालै ‘औपचारिक रूपमा कांग्रेस फुटेको’ निष्कर्षमा पु¥याउनु कानुनी र संस्थागत हिसाबले हतारो हुनेछ । तर राजनीतिमा पार्टी फुट्नका लागि सधैँ नयाँ पार्टीको घोषणा र छुट्टै चुनाव चिह्न आवश्यक पर्छ भन्ने पनि छैन । पहिले संगठनभित्र मन फुट्छ, त्यसपछि शक्ति केन्द्र अलग हुन्छन् र अन्ततः कागजमा विभाजन देखिन्छ । कांग्रेस अहिले यही संक्रमणको मोडमा उभिएको देखिन्छ ।
अब बाँकी छ–वैधानिकताको प्रश्न
    यदि आगामी दिनमा देउवा पक्ष र शशांक पक्षबीचको शक्ति संघर्ष अझ तीव्र भयो, पार्टीका निर्णय, संगठन सञ्चालन, महाधिवेशनको तयारी र नेतृत्व चयनमा समानान्तर गतिविधि बढे भने कांग्रेसभित्रको विवाद केवल आन्तरिक गुटबन्दीमा सीमित रहने छैन । त्यसपछि स्वाभाविक रूपमा प्रश्न उठ्नेछ–कुन कांग्रेस आधिकारिक ?
    कानुनी रूपमा पार्टी विभाजन भएको घोषणा नभएसम्म एउटै नेपाली कांग्रेस रहन्छ । तर राजनीतिक व्यवहारमा दुईवटा नेतृत्व, दुईवटा शक्ति केन्द्र र दुईवटा रणनीति विकसित हुँदै गए भने पार्टीको वास्तविक नियन्त्रण कसको हातमा छ भन्ने प्रश्न झन् पेचिलो बन्नेछ ।
    त्यस अवस्थामा विवाद निर्वाचन आयोग, अदालत वा अन्य संवैधानिक निकायसम्म पुग्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यो दिन कांग्रेसको विवाद केवल नेताहरूबीचको विवाद रहने छैन; ‘आधिकारिक कांग्रेस’ को प्रश्नमा परिणत हुनेछ ।
महाधिवेशन नै निर्णायक अखडा
    अब कांग्रेसका लागि १५औँ महाधिवेशन केवल नियमित संगठनात्मक प्रक्रिया रहने छैन । यो महाधिवेशन कांग्रेसभित्रको शक्ति संघर्षको निर्णायक जनमतसंग्रह बन्ने सम्भावना बढेको छ ।
कांग्रेस फुटेको छैन, तर फुटको रेखा कोरियो
    नेपाली कांग्रेस अहिले औपचारिक रूपमा विभाजित भएको घोषणा भएको अवस्था होइन । तर राजनीतिक घटनाक्रमले पार्टीभित्र विभाजनका स्पष्ट रेखाहरू कोरिएको संकेत भने गरिरहेका छन् । त्यसैले अहिलेको कांग्रेसलाई यसरी परिभाषित गर्न सकिन्छ–“पार्टी एउटै छ, तर नेतृत्वको मनोविज्ञान दुईतिर छ । झण्डा एउटै छ, तर शक्ति केन्द्र अनेक छन् । नाम नेपाली कांग्रेस एउटै छ, तर भोलिको कांग्रेस कस्तो हुने भन्ने लडाइँ सुरु भइसकेको छ ।” अब हेर्न बाँकी यति मात्रै हो—यो संघर्ष १५औँ महाधिवेशनभित्रै समाधान हुन्छ, कि कांग्रेसको इतिहासमा अर्को विभाजनको अध्याय लेखिन्छ ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्