सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै अविश्वास र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बालुवाटारमा करिब ४५ मिनेट गोप्य तथा अनौपचारिक छलफल भएको छ । प्रधानमन्त्री शाहले पछिल्लो समय आफू ‘विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको’ आशयको अभिव्यक्ति दिएपछि रास्वपा नेतृत्व असन्तुष्ट बनेको चर्चाबीच भएको भेटलाई सत्ता गठबन्धनभित्रको सम्बन्धका दृष्टिले अर्थपूर्ण मानिएको छ ।
राजदूतदेखि मन्त्रीको कार्यसम्पादनसम्म
स्रोतका अनुसार दुई नेताबीच सरकारका आगामी रणनीति, राजनीतिक तथा कूटनीतिक नियुक्ति, विभिन्न देशका लागि राजदूत छनोट र सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूको कार्यसम्पादनबारे गहन छलफल भएको छ । प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र लामिछानेको आसन्न चीन भ्रमण तथा नेपालको कूटनीतिक सन्तुलनबारे समेत दुई नेताबीच विचार आदानप्रदान भएको बताइएको छ ।
‘दरार छैन’ भन्छ बालुवाटार
दुई नेताबीच सम्बन्ध चिसिएको र गठबन्धनमा दरार आएको चर्चा भइरहेका बेला बालुवाटार स्रोतले भने त्यसलाई अस्वीकार गरेको छ । “बाहिर चर्चा गरिएजस्तो ठूलो मतभेद छैन । यो नियमित र अनौपचारिक राजनीतिक परामर्श हो,” स्रोतले भनेको छ । बालेन प्रधानमन्त्री बनेपछि लामिछाने बालुवाटार पुगेको यो दोस्रो भेट हो । सरकारको लोकप्रियता र रास्वपाको चिन्ता सरकारबाट अपेक्षित परिणाम नआएको भन्दै आलोचना बढ्दै जाँदा त्यसको राजनीतिक असर रास्वपाको जनाधारमा समेत पर्न सक्ने चिन्ता पार्टीभित्र देखिन थालेको छ ।
सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन, नीतिगत निर्णयमा पार्टीको भूमिका र प्रधानमन्त्रीसँगको समन्वयलाई लिएर रास्वपाभित्र दुई धार देखिन थालेका छन् । एउटा पक्ष सरकारका कमजोरीको राजनीतिक भार पार्टीले बोक्न नहुने पक्षमा छ भने अर्को पक्ष सरकारलाई बलियो बनाएर अघि बढ्नुपर्ने मतमा छ । यसैबीच, भेटमा रास्वपा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको उपस्थितिबारे विभिन्न दाबी भए पनि स्रोतहरूले छलफलको केन्द्रमा मुख्यतः बालेन र रवि नै रहेको बताएका छन् ।
अब प्रश्न—सम्बन्ध सुध्रिन्छ कि सत्ता समीकरण बदलिन्छ ?
बालुवाटारको यो ४५ मिनेटको संवादले तत्कालका लागि सत्ता साझेदारबीच बढेको अविश्वास कम गर्ने प्रयास भएको संकेत गरेको छ । तर सरकारको कार्यशैली राम्रो नभएको चौतर्फी गुनासो छ । (हेर्नुस् सम्पादकीय २ पेजमा)
४५ मिनेटको यो भेट केवल भेटघाट थियो, कि सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात ?–अबको राजनीतिक घटनाक्रमले यसको जवाफ दिनेछ ।
