सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा हिन्दु र मुसलमान समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा आइतबार राति प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । झडपमा परि घाइते भएका थप एक जनाको भने उपचारका क्रममा मृत्यु भएको हो । झडपमा घाइते भएका ओम मेहताको उपचारका क्रममा मृत्यु भएको देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए ।
स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु जारी गरेका हुन् । कफ्र्यु बिहान ७ बजेदेखि लागू भएको छ । कफ्र्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।
आइतबार राति दूई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था अझै गम्भीर छ । प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोली हान्नु पर्ने परिस्थिति नहुदै गोली चलाएको भन्ने खबर आइरहेका छन् । घटनामा घाइते भएका अन्य ९ जनाको शरीरको कम्मरमाथिको भागमा गोली लागेको पाइएको छ । न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा गोली लागेको छ । मिथलेश मेहताको पेटको बायाँ भागमा र अमलेश मेहताको ढाड तथा गर्दनमा गोली लागेको छ । नोबेल अस्पतालमा उपचाररत अमित यादवको पेट र देब्रे हातमा गोली लागेको छ ।
कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप तथा उत्पन्न तनावको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय सुरक्षा बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा गृहसचिव, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरूलगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो । गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) आनन्द काफ्लेका अनुसार सहसचिवको नेतृत्वमा बन्ने उक्त समितिमा सुरक्षा निकायका प्रतिनिधि, ऊर्जा मन्त्रालयका प्रतिनिधि र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहनेछन् । छानबिन समितिको संयोजक (सह–सचिव) को नाम भने मन्त्रालयले छिट्टै तोक्ने जनाएको छ ।
विद्युत् पोलमा राखिएको धार्मिक झण्डा हटाउने विषय र मन्दिरमा ठूलो स्वरमा बजाइएको डीजे (ध्वनि) सम्बन्धी सामान्य विवादले उग्र रूप लिँदा आइतबार राति दुई समूदाय बीच भिडन्त भएको थियो । प्रहरीले गोली चलाउने अवस्था आए पनि घुडा भन्दा माथि चलाउन निषेध छ । प्रहरीले टाउको मै ताकेर गोली चलाउदा गत भदौ २३ को जेन्जी आन्दोलनमा २३ जनाको ज्यान गएर ओली सत्ता ढलेको थियो ।
