IMG-LOGO

कांग्रेसमा देउवा–कोइराला एकातिर गगन थापा अर्कोतिर गगन थापाको राजीनामा अस्वीकृत

 मंगल, चैत १०, २०८२  – टाइम्स प्रतिनिधि

               नेपाली कांग्रेस इतिहास कै गम्भीर मोडमा छ । गत माघमा विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत सभापति चुनिदा शेरबहादुर देउवा र शेखर कोइरालाले विशेष महाधिवेशनलाई बहिष्कार गरे । निर्वाचन आयोगले गगन पक्षलाई सभापतिको मान्यता दिएपछि २१ फागुनमा गगनको नेतृत्वमा बदलिँयौ कांग्रेस, बदल्छौ देश भन्ने नारा लिएर चुनावमा गएको कांग्रेसले प्रत्येक्षमा जम्मा २० सिट मात्रै जित्यो । हारको जिम्मेवारी लिदंै गगन थापाले राजीनामा दिए त्यही बेला देउवा र कोइराला पक्ष निकट भविष्यमा केन्द्रीय भेला गर्ने तयारीमा छ । निर्वाचन आयोगले गगनलाई मान्यता दिए पछि कांग्रेसको आधिकारिकता बारे सर्वोच्च अदालतमा मुद्दा छ ।

               नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उप–सभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा चैत ६ देखि ८ गतेसम्म चलेको बैठकले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पेस गरेको राजीनामालाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

               बैठकले सभापतिको राजीनामा अस्वीकृत गर्नुका पछाडि मुख्य आठवटा आधारहरू प्रस्तुत गरेको छ । निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थिति रहेको बैठकको निष्कर्ष छ ।

               वर्तमान जटिल राजनीतिक अवस्थामा थापाकै नेतृत्व आवश्यक रहेको, राजीनामाले पार्टीमा अस्थिरता र कार्यकर्ताको मनोबल गिराउने तथा ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएकाले राजीनामा फिर्ता गरिएको प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

               निर्वाचन परिणामको समीक्षा गर्दै उप–सभापति शर्माले प्रस्तुत गर्नु भएको २७ बुँदे प्रारम्भिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको छ । समीक्षाअनुसार चरम गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, पुराना शक्तिप्रतिको जन–आक्रोश र डिजिटल युगमा नयाँ शक्तिहरूको उदयका कारण कांग्रेसले अपेक्षित नतिजा ल्याउन नसकेको ठहर गरिएको छ ।

               जिल्ला र क्षेत्रबाट प्राप्त हुने प्रतिवेदनलाई समेत एकीकृत गरी थप विश्लेषण गरिने पार्टीले जनाएको छ । अबको मुख्य कार्यदिशा १५औँ महाधिवेशन हुने गरी कांग्रेसले आफ्नो ध्यान केन्द्रित गरेको छ । आगामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र सांगठनिक पुनर्संरचना गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउने रणनीति लिइएको छ । यसका लागि सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी एकता सुदृढ गर्न र अनुशासनमा रहन आह्वान गरिएको छ ।

               पार्टीले निर्वाचन प्रक्रियामा सहभागी उम्मेदवार, कार्यकर्ता र मतदाताप्रति आभार प्रकट गर्दै विजयीहरूलाई बधाई ज्ञापन गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद कांग्रेसलाई मत दिने मतदाताहरूको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ । निर्वाचन परिणामलाई कांग्रेसले पार्टी पुनःजागरण र नवनिर्माणको अवसरका रूपमा उपयोग गर्ने संकल्प गरेको छ ।

               समसामयिक विषयमा निर्णय गर्दै कांग्रेसले मध्यपूर्वमा जारी युद्धप्रति चिन्ता व्यक्त गरेको छ । युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल स्वदेश फर्काउन सरकारसँग माग गरिएको छ । यस्तै, २०८२ भदौमा भएको ‘जेन–जी’ प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्