काठमाडौं– जेन–जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी मुभमेन्ट एलायन्स, नेपाल जेन–जी फ्रन्ट र जेन–जी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको समाचार छ । जाँचबुझ आयोगका संयोजक एवंम् पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले यही आइतबार बुझाएको प्रतिवेदन प्रधानमन्त्रीसहितको विज्ञ टिमले अध्ययन गरिरहेको बुझिन्छ । अध्यक्ष कार्कीसहित आयोगका सदस्यहरूले यही आइतबार प्रतिवेदन बुझाएपछि प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गर्ने बचन दिएकी थिइन् ।
प्रधानमन्त्रीसहित विज्ञ टिमले एक चरणमा अध्यान गरिसकेपछि उक्त प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेश हुने र कार्यान्वयनको प्रक्रियामा अगाडि बढाउने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटर स्रोतले जानकारी दिएको छ । मुख्य प्रतिवेदन ९ सय पृष्ठभन्दा लामो छ । प्रधानमन्त्री कार्की आइतबारदेखि निरन्तर अध्ययनमा छिन् । ‘यो सरकार बनेकै आन्दोलनलाई न्याय दिन हो, त्यसकारण उहाँले प्रतिवेदन अध्ययन गरिरहनु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘महत्वपूर्ण कामबाहेक अन्त नलागी प्रधानमन्त्रीज्यू त्यसमै केन्द्रित हुनुभएको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रहरीका केही अधिकृत र उपत्यकाका प्रजिअ दोषी रहेको चर्चा सुनिए पनि प्रधानमन्त्रीको कार्यालयले यसबारे केही जानकारी दिएको छैन । प्रतिनिधि सभाका केही सांसद पनि यो प्रतिवेदन आएपछि घटनामा मुछिने धेरैको अड्कलबाजी छ । तर यसबारे प्रधानमन्त्रीको कार्यालयले केही जानकारी दिएको छैन ।‘प्रधानमन्त्रीज्यूसहित विज्ञ टिमले चुपचाप अध्ययन गरिरहेको समाचार छ ।
