अन्ततः वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत हुने भएका छन्।् । हिजो सोमबार बसेको मन्त्री परिषद बैठकले उनलाई राष्ट्रियसभा सांसदका लागि मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन । उमेरका हिसाबले नेकपामा सबै भन्दा बढी उमेर भएका वामदेव गौतम ५ दशक देखि वाम राजनीतिमा निरन्तर सकृय छन् । तत्कालीन नेकपा एमालेमा रहँदा यिनले एमाले फुटाएर नेकपा माले बनाएका थिए । २०५६ सालमा भएको आम निर्वाचनमा उनको पार्टीले एक सिट पनि जितेन । २०५७ मा पुग्दा उनी फेरि एमालेमै फर्किएका थिए । एमालेमा हुँदा पटकपटक विभिन्न मालदार मन्त्रालय सम्हालिसकेका यिनका आँखा सधैं सत्ताको पेरिफेरिमै छ । नेकपा एकताको सुत्रधार भनिएका बामदेव गौतम २०७४ मा बर्दियाबाट चुनाव हारेका थिए । पटकपटक वामदेव गौतमले संसद छिर्न अनेकौं कसरत गरे । कहिले डोल्पाबाट निर्वाचित सांसदलाई राजीनामा गराउने त कहिले काठमाडौं ६ का सांसद रामप्रसाद मानन्धरलाई राजीनामा गराएर संसद मा पस्ने उपाय खोज्दा प्रधानमन्त्री केपी ओलीले रोकेको चर्चा ब्यापक थियो । त्यसपछि नै नेकपामा बिवाद उत्पन्न भएको हो । एक बर्षअघि नेकपा स्थायी समिति बैठकले राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गर्दा पनि प्रधानमन्त्री ओलीले रोक्दै आएका थिए । अहिले अर्थमन्त्री युवराज खतिवडाको पदावधि सकिए पछि उनलाई नेकपा स्थायी समिति बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । यद्यपि प्रधानमन्त्री ओलीले नस्विकार्दा नस्विकार्दै पनि वामदेवलाई राष्ट्रिय सभामा लानु परेको छ । किनभने उनले नेकपा बिभाजनको डिलमा पुगेका बेला प्रम ओलीलाई बल पुग्ने निर्णय गरेका थिए । बामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका शक्तिशाली उपाध्यक्ष हुन । उनका पक्षमा पनि धेरै सांसद भएता पनि चुनाव हारेको नेतालाई फेरि संसदमा लानु हुन्न भन्ने चौतर्फी दवाबका बीचमा पनि उनीलाई राष्ट्रिय सभामा लगिएको छ । यस अघि गोरखा जिल्लाबाट हारेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभामा लगिएको थियो । सत्ता बिना एक छिन बाहिर नबस्ने वामदेव गौतम अब उप–प्रधानमन्त्री तथा अर्थ मन्त्री हुने चर्चा छ । अर्को खबर छ कि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनबारे छलफल सकिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थायी कमिटी बैठकका निर्णय तल्ला कमिटीहरुमा सर्कुलर गर्ने निर्णय भएको खबर स्रोतले जनाएको छ । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पुरै कार्यकाल सरकार चलाउने र अर्को अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने निर्णय गरेको थियो । त्यस्तै चैतमा महाधिवेशन गर्ने समेत निर्णय गरेको थियो । स्थायी समितिको निर्णय लगत्तै नेकपाको संगठन विभागले तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले एकताको कामलाई असोज महिनाभित्र गरिसक्ने, पार्टीमा अनुशासन कायम गर्ने, गुटबन्दीको अन्त्य गर्ने लगायतका निर्णय गरेको छ । यस्ता विषयहरु कार्यान्वयनका लागि तल्ला तहसम्म सर्कुलर समेत गरिने भएको खबर स्रोतले बतायो ।
