आइतबार शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप भयो । प्रहरी र शिक्षकको भिडन्तमा प्रहरीले बल प्रयोग ग¥यो । दमकलले पानीको फोहोरा हान्यो । दर्जन बढी शिक्षक घाइते भए । पत्रकार सबिना कार्कीको आँखामा गहिरो चोट लाग्यो ।
शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् । ‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन, उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छन् । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गर्दा १५ बढी शिक्षक घाइते भएको महासंघले जनाएको छ । आन्दोलनमा बल प्रयोगपछि शिक्षकहरू झन आक्रोशित भएका छन्। भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघले जनाएको छ । ‘सोमबार यो भन्दा तीन गुना शिक्षक भेला हुने कुरा बताए पनि सोचे जस्तो भएन । अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नु भएको छ, अध्यक्ष सुवेदीले भने ।
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनलाई ‘अन्तिम र निर्णायक धक्का’ दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ । आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ । संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का आवश्यक भएको उल्लेख छ । महासंघले २०८१ चैत्र २० गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन २५ दिन नाघिसकेको जनाएको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ ।
आन्दोलन माग पुरा नभएसम्म ः अध्यक्ष सुवेदी
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म नथाक्ने बताएका छन् । हिजो २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको बताएका हुन् । ’यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन् र भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्,’ उनले भने । अध्यक्ष सुवेदीले आइतबार प्रहरीले आन्दोलनमा बर्बरताको पराकाष्ठा देखाएको बताए । ’शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र निहुँ पारेर शिक्षक माथि लाठी बर्षायो । उक्र कार्य निन्दनीय छ अध्यक्ष सुवेदीले भने ।
