IMG-LOGO

रोकिएन एमसीसी परियोजना, खुल्यो बोलपत्र

 मंगल, चैत ११, २०८१  – टाइम्स ब्युरो

 

     ९० दिनलाई काम रोकिएको एमसीसी परियोजना चालु भएको छ । त्यसका लागि एमसीसी नेपालले नयाँ बोलपत्र आह्वान गरेको छ । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले तिब्रता दिंदै खरिद सूचना निकाल्न थालेको हो ।

     ‘अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्थामा एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिएको छ,’ एमसीए नेपालले जारी गरेको सूचनामा छ, ‘तर, यो अनुमतिले यसको समीक्षाबाट कुनै नतिजा प्राप्त भएको भन्ने अर्थ भने लाग्दैन ।’ यसरी अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू रहेको एमसीए–नेपालले जनाएको हो ।

     एमसीए–नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको जनाएको छ । यसबीच आफूबाट पालना हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र एमसीसीसँग समन्वय गरिरहेको पनि उसले जनाएको छ ।

     यसअघि २ फागुन २०८१ मा एमसीसीले नेपाल सरकारलाई इमेल गरी वैदेशिक सहायता पुनर्मूल्यांकन तथा पुनर्संरचना गर्ने डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि एमसीसीबाट हुने खर्च स्थगन गर्न भनेको थियो । त्यसपछि एमसीए नेपालका काम अघि बढ्छन् कि बढ्दैनन् भन्ने विषयमा ब्यापक अन्योल थियो । अमेरिकी सरकारले केही निश्चित काम अघि बढाउन अनुमति दिएपछि एमसीसी अनुदानले निरन्तरता पाउने संकेत मिलेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग हालै भारतको नयाँदिल्लीमा भएको भेटमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद् वरिष्ठ निर्देशक रिक्की गिलले एमसीसीको सहयोग निरन्तर कायम रहनेमा आफूहरू आशावादी रहेको बताएको कुरा नेपालका विभिन्न मिडिया मार्फत आएको छ । समाचार अनुसार केही काम सुचारु गर्न अनुमति प्राप्त भएको सूचना जारी गर्नुअघि नै एमसीए नेपालले गएको बिहीबार धानखोला–लमही सडकको पेभमेन्ट रिसाइक्लिङ सम्बन्धी काम सुपरीवेक्षणका लागि परामर्शदाता नियुक्ति गर्ने बोलपत्र आह्वान गरेको छ ।

     साथै, नारायणढ–मुगलिङ सडकको आवधिक मर्मत सम्भार सम्बन्धी कार्यको डिजाइन तथा निर्माण सुपरीवेक्षण सम्बन्धी परामर्श सेवा खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको छ । अमेरिकी सरकारको अनुमति प्राप्त भएपछि बोलपत्र आवहान गरिएको हो । अमेरिकी अरु सहयोग भने अहिलेसम्म केही आएको छैन उता युएसआइडी को प्रोजेक्ट पुरै बन्द भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्