अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उप– प्रधानमन्त्री, गृहमन्त्री भएका रवि लामिछाने जेल जाने भएका छन् । काभ्रे टाइम्सले यस अघि वर्ष २८ अंक ३६ को मिति २०८१ असोजमा रवि लामिछानेलाई जेल हाल्ने समाचार लेख्दा धेरैले पत्याएका थिएनन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । अस्ति आइतबार दायर गरिएको अभियोगपत्रमा लामिछानेविरुद्ध सहकारी ठगीको आरोप प्रमाणित गर्न केही आधार र कारण उल्लेख छन् । अब रवि र सरकारी वकिलले थुन छेक बहस पछि अदालतले रवि लामिछानेको मुद्दामा फैसला गर्ने छ यो अवधि अझै एक हप्तासम्म लाग्न सक्नेछ ।
जीबी राई समेतले संगठितरूपमा योजनाबद्ध तवरबाट सहकारीको निक्षेप रकम अपचलन गर्ने समूहमा आबद्ध भई यी प्रतिवादी रवि लामिछानेले व्यक्तिगत खाता तथा निज आबद्ध गोर्खा मिडिया नेटवर्क प्रालि समेतमा रकमान्तर भई आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा उपयोग, धारण र प्रयोग गर्ने कार्यमा संलग्न रहेको देखिन्छ भन्ने कुरा प्रहरीले लगाएको अभियोगपत्रमा उल्लेख छ ।
लामिछानेले अनुसन्धानका क्रममा दिएको बयानमा आफू प्रबन्धक तथा सेयरधनी रहेको कम्पनीमा आएको रकमबारे अनभिज्ञता प्रकट गरेको अभियोगमा जनाइएको छ । तर, गोर्खा मिडिया नेटवर्क प्रालिको लिडिङ कम्पनीको रूपमा रहेको जीबी ग्रुप अफ कम्पनीबाट बरामद दस्तावेजमा गोर्खा मिडिया नेटवर्कको ‘इन्भेस्टमेन्टओभरभ्यू’मा स्पष्टरूपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारीबाट लगानी गर्ने योजना रहेको देखिएको अभियोगमा उल्लेख छ ।
“निज प्रतिवादी (रवि लामिछाने) सेयरधनी रहेको संस्थामा भएको लगानीको स्रोतबारे अनभिज्ञता प्रकट गर्नु भनेको अपराध लुकाउने मनशायमात्र रहेको बुझिन्छ,” अभियोगपत्रमा भनिएको छ ।
अभियोगपत्र अनुसार, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट एक करोड रुपैयाँ कर्जा रकम १४.७५ प्रतिशत ब्याजदर हुने गरी रजिस्ट्ररको माध्यम भन्ने महलमा अफिस उल्लेख गरी लामिछानेको नाममा कर्जा प्रवाह भएको उल्लेख छ ।
“सोही रजिस्ट्ररमा जितेन्द्र बाबु राई तथा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट निजको नाममा पेस्की जनाई गोर्खा मिडिया नेटवर्क प्रालि अपचलन गरेको बचत रकमसमेत रहेको तथा सो रजिस्ट्ररमा रहेका अन्य ऋणीहरूलाई बुझ्ने क्रममा निजहरूले रजिस्ट्ररमा उल्लिखित ऋण रकम सही सत्य भएको र केही चुक्ता गरिसकेको र बाँकी रकम चुक्ता गर्न तयार रहेको भनी स्वीकार गरेको अवस्थाबाट निजको नाममा जनाइएको ऋण रकम निजले लिएका हुन् भन्ने तथ्य स्थापित भएको छ,” अभियोगपत्रमा भनिएको छ ।
लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक खाताको चेकबाट मासिकरूपमा दुईवटा एक लाख १२ हजार रुपैयाँ वा एकैपटक दुई लाख २४ हजार रुपैयाँको चेकमार्फत नियमितरूपमा आफैँले दस्तखत गरी आफू नै सेयरधनी तथा प्रबन्धकसमेत भएको कम्पनीबाट आफू नै ऋणी भएको सूर्यदर्शनलगायत सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्यांकले उनले लिएको ऋण गोर्खा मिडियामा प्रयोग भएको पुष्टि हुने अभियोगमा जनाइएको छ ।
अभियोगपत्रका अनुसार, गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल एक हजार २३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र जितेन्द्र बाबु राईले संयुक्तरूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ ।
लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसमेतबाट गैरकानूनी तवरले सहकारीको भावना तथा मर्मविपरीत कर्जाबापत तथा सहकारीको खाताबाट विभिन्न व्यक्तिका खातामा रकमान्तर गरिएको रकम विभिन्न व्यक्तिहरू तथा कम्पनीबाट नगद तथा चेकमार्फत प्रयोग तथा धारण गरी प्रतिवादीले सम्पत्तिको सही प्रकृति बदल्ने सो उपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोग समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि हुन आयो,” अभियोगपत्रमा भनिएको छ । यसै कारण रवि लामिछाने अदालतको अन्तिम फैसला नगर्दै पुर्पक्षका लागि जेल जाने कुरा पक्का छ ।
