प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधकै बीच विश्वासको मत लिनु भएको छ । हिजो विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्था अनुरुप विश्वासको मत लिदाँ कांग्रेसले अनेक बखेडा निकालेर संसद अवरोध गरेकोमा आपत्ती जनाउँदै आगामी निर्वाचनमा कांग्रेसले मुल्य चुकाउने धारणा राख्नुभयो । उहाँले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चर्को मूल्य चुकाउनुपर्ने टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो । नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ प्रम दाहाले भन्नुभयो । हिजो कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी प¥यो भने १०÷१२ पटक विश्वासको मत लिन्छु प्रम दाहालले भन्नुभयो ।’ प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी प्रधानमन्त्री दाहालले दिनुभयो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । कांग्रेसको अवरोधका बीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन् । जनता समाजवादी नेपाल (जसपा) नेतृत्वको उपेन्द्र यादवको नेतृत्वले सरकार छोडेको कारण सँगै प्रम दाहालले विश्वासको मत लिनुपर्ने भएको हो । संवैधानिक व्यवस्था बमोजिम सत्ता साझेदार दल मध्येले सरकार छोडेमा पुनः सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान भएका कारण प्रम दाहालले हिजो फेरी विश्वासको मत लिनुपरेको हो ।
